श्रमिकको जीवनमा परिवर्तन नआएसम्म अभियान रोकिँदैन : अध्यक्ष प्रचण्ड

-


     हिडन खबर    
     असार १० गते २०८२ मा प्रकाशित


ललितपुर, असार १०
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले श्रमिक र उत्पीडित वर्गको जीवनमा परिवर्तन नआएसम्म पार्टीको अभियान नरोकिने स्पष्ट गर्नुभएको छ।

ललितपुरमा आयोजित ‘बेतलबी र घरेलु हेरचाह कार्यसम्बन्धी संवाद कार्यक्रम’मा अध्यक्ष प्रचण्डले संविधानले सुनिश्चित गरेका श्रमिकका हक–अधिकार व्यवहारमा कार्यान्वयन गर्नु अहिलेको प्रमुख आवश्यकता भएको बताउनुभयो।

उहाँले आफ्नो प्रधानमन्त्रीत्वकालमा औपचारिक र अनौपचारिक क्षेत्रका श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा समावेश गर्ने अभियान थालिएको स्मरण गर्दै, त्यसले श्रमिकको जीवन मर्यादित बनाउने दिशामा टेवा पुर्‍याएको उल्लेख गर्नुभयो।

“घरेलु श्रमिकसहित सबै श्रमिकलाई सामाजिक सुरक्षा प्रणालीमा समेट्नैपर्छ, तबमात्र उनीहरूको सम्मानित जीवन सुनिश्चित हुन्छ,” उहाँले भन्नुभयो।

प्रचण्डले पछिल्लो केन्द्रीय समिति बैठकमा पार्टी र उत्पीडित समुदायबीचको सम्बन्ध कमजोर भएको स्वीकारिएको जानकारी दिँदै ती कमजोरी सुधार गर्दै अगाडि बढिरहेको स्पष्ट पार्नुभयो।

कार्यक्रममा उहाँले घरेलु श्रम तथा हेरचाह कार्यलाई सम्मानजनक पेशाको रूपमा स्थापित गर्न पार्टीको पूर्ण समर्थन रहने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।