इजरायल–इरान तनाव : नेपालीको सुरक्षामा परराष्ट्र मन्त्रालयको विशेष ध्यान

-


     हिडन खबर    
     असार ९ गते २०८२ मा प्रकाशित


काठमाडौं, असार ९
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले इजरायल र इरानमा रहेका नेपाली नागरिकको सुरक्षा तथा आवश्यकताको आधारमा स्वदेश फिर्तीका लागि मन्त्रालयले प्राथमिकताका साथ काम गरिरहेको जानकारी दिनुभएको छ।

सोमबार प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयक २०८२/८३ अन्तर्गत उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री डा. राणाले हाल इजरायल–इरानबीच उत्पन्न द्वन्द्व र त्यसका सम्भावित असरलाई गम्भीरताका साथ मूल्याङ्कन गर्दै मन्त्रालयले नेपालीको सुरक्षालाई प्रमुख प्राथमिकतामा राखेर काम गरिरहेको स्पष्ट पार्नुभयो।

“द्वन्द्व सुरु भएको दिनदेखि नै मन्त्रालयले विकसित अवस्थालाई नजिकबाट अनुगमन गरिरहेको छ,” उहाँले भन्नुभयो, “इरानमा रहेका केही नेपालीलाई भारत सरकारसँगको समन्वयमा त्यहाँको भारतीय दूतावासमार्फत उद्धारको व्यवस्था मिलाइएको छ।”

इजरायलमा रहेका नेपालीहरुको विवरण अनलाइन पोर्टलमार्फत सङ्कलन भइरहेको बताउँदै उहाँले घर फर्कन चाहनेको व्यवस्थापन प्रक्रिया अघि बढाइएको जानकारी दिनुभयो।
“उहाँहरूले अनलाइन पोर्टलमा दर्ता गरिरहनुभएको छ, यसबाट उनीहरूको संख्या र स्थानको यथार्थ जानकारी पाइनेछ,” मन्त्री राणाले भन्नुभयो, “केही नेपालीहरूले घर फर्कने इच्छा जनाएका छन् र उनीहरूको उद्धारको गृहकार्य थालिएको छ।”

इजरायलमा अपहरणमा परेका नेपाली विद्यार्थी विपिन जोशीको अवस्थाबारे पनि सरकार गम्भीर रहेको उल्लेख गर्दै मन्त्री राणाले उनको रिहाइका लागि नेपाल सरकारले निरन्तर कूटनीतिक पहल गरिरहेको तर हालसम्म ठोस सूचना प्राप्त नभएको जानकारी दिनुभयो।

मन्त्री राणाले परराष्ट्र मन्त्रालयसँग सम्बन्धित भूभाग तथा सीमा, आर्थिक कूटनीति, गैरआवासीय नेपाली, कन्सुलर सेवा, राजदूत नियुक्ति, परराष्ट्र नीति, राष्ट्रिय सुरक्षा लगायतका विषयमा सांसदहरूले उठाएका प्रश्नको जवाफ पनि बैठकमा दिनुभएको थियो।