शिक्षकका मागमा सरकार बहानाबाजी नगरोस् भनेर सदनको अवरोध हटाएका हौं : अध्यक्ष प्रचण्ड

-


     हिडन खबर    
     असार ९ गते २०८२ मा प्रकाशित


📍 काठमाडौं, असार ९
हिड्न संवाददाता

नेपाल शिक्षक महासंघका पदाधिकारीहरूले आज नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रतिनिधिसभाका प्रमुख प्रतिपक्षी नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग उहाँको खुमलटारस्थित निवासमा भेटवार्ता गरेका छन्।

भेटमा महासंघका प्रतिनिधिहरूले सरकारले शिक्षकहरूसँग भएका विगतका सहमति कार्यान्वयनमा चासो नदेखाएको गुनासो गर्दै ती सहमतिहरू तुरुन्त लागू गराउन प्रतिपक्षी दलबाट बलियो साथको अपेक्षा राखेका थिए।

शिक्षकहरूको गुनासो सुनेपछि अध्यक्ष प्रचण्डले शिक्षक पेशालाई सम्मानित र राष्ट्र निर्माणसँग जोडिएको महत्वपूर्ण पेसाका रूपमा प्रस्तुत गर्दै सरकार शिक्षकहरूप्रति जिम्मेवार बन्नुपर्ने धारणा व्यक्त गर्नुभयो।

“शिक्षकहरूलाई सम्मान गर्नुपर्छ, किनभने यो पेशा देशको भविष्य निर्माणसँग गाँसिएको छ,”
— अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’


उहाँले सरकार र शिक्षक महासंघबीच भएका सहमति कार्यान्वयनमा ढिलाइ हुनु आपत्तिजनक भएको बताउँदै थप्नुभयो,

“हामीले सदनको अवरोध हटाउने निर्णय पनि सरकारलाई ‘शिक्षकका मागहरू पूरा भएनन्’ भन्ने बहाना नबनाउन सकोस् भनेर लिएका हौं।”


अध्यक्ष प्रचण्डले शिक्षकहरूको जायज मागहरू कुनै सर्तबिना तुरुन्त कार्यान्वयन गरिनु पर्नेमा जोड दिँदै प्रतिपक्षी दलको तर्फबाट पूर्ण समर्थन रहने स्पष्ट पार्नुभयो।

उहाँले प्रारम्भिक बालविकास (ईसीडी) कक्षालाई विद्यालय संरचनाभित्र समेट्नुपर्ने आवश्यकता पनि औँल्याउँदै यसको नीतिगत कार्यान्वयनमा जोड दिनुभयो।

शिक्षक महासंघका पदाधिकारीहरूले शिक्षा क्षेत्रलाई अनिश्चितताको अवस्थामा नराख्न आग्रह गर्दै, विगतमा भएका सहमति तत्काल कार्यान्वयन गर्न राजनीतिक तहबाट प्रभावकारी पहल आवश्यक रहेको धारणा राखेका थिए।