
बागलुङ, असार ७
नेपाल पत्रकार महासंघ बागलुङ शाखाले आफ्नो स्थापनाको २५ वर्ष पूरा भएको अवसरमा वर्ष २०८२ लाई रजत वर्षका रूपमा मनाउने भएको छ। महासंघको शनिबार बसेको कार्यसमिति बैठकले वर्षभर विविध रचनात्मक गतिविधि सञ्चालन गर्ने निर्णय गरेको हो।
शाखाका अध्यक्ष राम थापाका अनुसार असार २५ गते रजत जयन्तीको अवसर पारेर दुईदिवसीय कार्यक्रम आयोजना गरिनेछ।
कार्यक्रम अन्तर्गत असार २४ गते बिहान ध्यान शिविर र दिउँसो अन्तरशाखीय मैत्रीपूर्ण फुटसल प्रतियोगिता आयोजना गरिनेछ। प्रतियोगितामा बागलुङसहित कास्की, पर्वत र म्याग्दी शाखाका पत्रकारको सहभागिता रहनेछ।
ध्यान शिविरको संयोजक महासंघकी उपाध्यक्ष सिर्जना पन्तलाई तोकिएको छ भने फुटसल खेल आयोजनाका लागि कार्यसमिति सदस्य अर्जुन कार्की, संगम घर्ती मगर र पत्रकार रोहन जिसीलाई जिम्मेवारी दिइएको अध्यक्ष थापाले जानकारी दिए।
असार २५ गते बिहान प्रभातफेरीसहित रजत जयन्ती मूल समारोह आयोजना गरिनेछ। सो अवसरमा महासंघमा स्थापित विभिन्न पत्रकारिता पुरस्कार वितरण तथा विशिष्ट व्यक्तिहरूलाई सम्मानसमेत गरिनेछ। समारोहमा महासंघकी केन्द्रीय अध्यक्ष निर्मला शर्मालाई प्रमुख अतिथि बनाइने शाखाले जनाएको छ।
रजत वर्षको सन्दर्भमा महासंघले आफ्नै कार्यालय परिसरमा ‘रजत वर्ष स्तम्भ’ स्थापनासहित रजत स्मारिका प्रकाशन, बागलुङ मिडिया सम्मेलन लगायतका कार्यक्रमसमेत गर्ने भएको छ।
शाखाकी उपाध्यक्ष सिर्जना पन्तका अनुसार वर्ष २०८२ लाई तालिम वर्षका रूपमा समेत घोषणा गरिएको छ। आधारभूतदेखि मल्टिमिडिया पत्रकारितासम्मका तालिमलाई समेटेर वार्षिक कार्ययोजना अनुरूप सञ्चालन गरिनेछ। पत्रकारहरूको पेशागत सुरक्षा र दक्षता अभिवृद्धि महासंघको प्राथमिकता रहेको उनले बताइन्।
बैठकमा विभिन्न उपसमितिका संयोजकहरू — तालिम उपसमिति संयोजक सिर्जना पन्त, आर्थिक उपसमिति संयोजक सुवास गौतम, अनुशासन समिति संयोजक सुवास आचार्य, सूचना–प्रविधि उपसमिति संयोजक डम्मर बुढा मगर तथा अन्तरसंस्था समन्वय उपसमिति संयोजक नवराज परियारले आ–आफ्नो कार्ययोजना प्रस्तुत गरेका थिए।
बैठकले आगामी साउनको पहिलो साता जिल्लाका सम्पूर्ण सरकारी कार्यालयका प्रमुख, सूचना अधिकारीलगायतसँग सूचनाको हकको व्यवहारिक अभ्यास सम्बन्धमा अन्तरक्रिया कार्यक्रम गर्ने निर्णय गरेको छ।
त्यसैगरी, महासंघले स्थापना गरेको **‘पत्रकार लेखनवृत्ति कोष’**लाई चाँडै लक्षित रकम पुर्याएर यही वर्षदेखि खोजमूलक पत्रकारिता गरिरहेका पत्रकारलाई लेखनवृत्ति प्रदान गर्न सुरु गरिने समेत जानकारी दिइएको छ।












