ग्रामीण शहरको रूप लिंदै काँठेखोला : नमुना आवास क्षेत्र विकासको घोषणा

-


     हिडन खबर    
     असार ७ गते २०८२ मा प्रकाशित


बागलुङ, असार ७
गण्डकी प्रदेशको दोस्रो ठूलो व्यापारिक केन्द्रका रूपमा चिनिएको बागलुङ जिल्लाको काँठेखोला गाउँपालिकाले मध्यपहाडी लोकमार्गसँग जोडिएका बस्तीहरूलाई ग्रामीण शहरको रूपमा विकास गर्ने योजना अघि सारेको छ।

गाउँपालिकाका वडा नं. १, २, ५ र ६ लाई नमुना आवास क्षेत्र बनाउँदै व्यवस्थित बस्ती विकासमार्फत ग्रामीण शहरीकरणतर्फ उन्मुख हुने स्थानीय काँठेखाेला गाउँ पालिकाका अध्यक्ष राजु थापाले बताए ।

गाउँघरमा अनियोजित बसोबास र अव्यवस्थित बस्तीका कारण आम जनताले विकासको प्रभाव अनुभूत गर्न नसकेको गुनासो बढेपछि यस्तो नीति ल्याइएको काँठेखोला गाउँपालिकाका अध्यक्ष थापाले बताए ।

उनका अनुसार, “नमुनाआवास कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न सकियो भने यस क्षेत्रको आर्थिक समृद्धि, बसाइँसराइको समस्याको समाधान तथा कृषिजन्य उत्पादनको सहज बजार पहुँच सम्भव हुनेछ।”

अहिले गाउँ पालिकाले आफ्नो निती तथा कार्यक्रम मार्फ ल्याएको कार्यक्रमले केही उत्साह जगाउने स्वागत याेग्य भएको हुदा यसलाई सबैले सकारात्मक रूपमा हेरेकाे स्थानीय खिमानन्द कडेलले बताए ।

मध्यपहाडी लोकमार्गको करिब ११५ किलोमिटर खण्ड बागलुङ जिल्लामा पर्न आएको छ। यो सडक सञ्जालमार्फत यातायातको चाप बढ्दै गएको सन्दर्भमा काँठेखोलाले ल्याएको योजना अझै सान्दर्भिक देखिन्छ। यातायात, व्यापार, कृषि र सेवा क्षेत्रमा समेत यसको सकारात्मक प्रभाव पर्ने जनअपेक्षा छ।

स्थानीय तहको अग्रसरतामा यो योजना कार्यान्वयन हुँदै जाँदा काँठेखोला गाउँपालिका ग्रामीण रूपमै व्यवस्थित शहरको प्रतिमूर्ति बन्ने सम्भावना बलियो हुँदै गएको छ। विकास योजनाले स्थानीयस्तरमा उत्साह र आशा थपेको देखिन्छ।