इजरायल–इरानबाट नेपालीको उद्धार तयारीमा : परराष्ट्रमन्त्री डा. राणा

-


     हिड्न खबरदाता     
     असार ६ गते २०८२ मा प्रकाशित


काठमाडौं ।असार ६
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले इजरायल र इरानमा हाल उत्पन्न युद्धजन्य परिस्थितिका कारण त्यहाँ रहेका नेपाली नागरिकहरूको सुरक्षाका लागि नेपाल सरकार उच्च सतर्कताका साथ उद्धार तयारीमा रहेको जानकारी दिनुभएको छ।

शुक्रवार परराष्ट्र मन्त्रालयमा सम्पन्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र गृह मन्त्रालयबीचको संयुक्त बैठकमा मन्त्री डा. राणाले इजरायल–इरानबीचको युद्धले सिर्जना गरेको जटिल परिस्थितिबारे छलफल गर्दै उद्धार प्रयासबारे स्पष्ट पार्नुभयो।

उहाँले भन्नुभयो, “परराष्ट्र मन्त्रालयको समन्वयमा इजरायलस्थित नेपाली दूतावास सक्रिय रूपमा कार्यरत छ। स्वदेश फर्कन चाहने नेपालीका लागि अनलाइन दर्ता प्रणाली सञ्चालनमा छ, र उद्धारका लागि आवश्यक पूर्वतयारी सरकारले गरिरहेको छ।”

मन्त्री डा. राणाका अनुसार जिटुजी (सरकार–सरकार) सम्झौताअन्तर्गत इजरायल पुगेका नेपालीहरूलाई सुरक्षित स्थानमा जान वा स्वदेश फर्किन चाहने भएमा इजरायल सरकारलाई आवश्यक सहजीकरण गर्न अनुरोध गरिसकिएको छ।

श्रममन्त्री भण्डारीको धारणा

श्रममन्त्री शरदसिंह भण्डारीले बैठकमा बोल्दै इजरायलमा रहेका नेपालीहरूसँग निरन्तर सम्पर्कमा रहेको जानकारी दिनुभयो। उहाँले हाल इजरायल जान अन्तिम तयारीमा रहेका कामदारहरूलाई श्रम स्वीकृति रोकेर सुरक्षाको दृष्टिकोणले रोक लगाइएको पनि स्पष्ट गर्नुभयो।

युद्ध सुरु भएदेखि भएका कदमहरू

यसअघि, जुन १३ मा इजरायल र इरानबीच युद्ध सुरु भएको दिन नै परराष्ट्र मन्त्रालयले दुवै पक्षलाई संयमता अपनाउन र संवादमार्फत समस्याको समाधान गर्न अपिल गरेको थियो। साथै ती मुलुकहरूमा रहेका नेपालीहरूलाई सम्बन्धित दूतावाससँग सम्पर्कमा रहन आग्रह गरिएको थियो।

त्यसपछिका दिनहरूमा मन्त्रालयले ट्राभल एड्भाइजरी जारी गर्दै नेपालीहरूलाई उच्च सतर्कता अपनाउन, अनावश्यक यात्रा नगर्न र सीमावर्ती मुलुकहरूमा जानुपर्ने अवस्था आएमा अनलाइन भिसासम्बन्धी आवश्यक सहजीकरण गर्न सम्बन्धित दूतावासहरूलाई निर्देशन दिएको छ।

६ सयभन्दा बढीले दर्ता गरे विवरण

परराष्ट्र मन्त्रालयले सुरू गरेको अनलाइन पोर्टलमा हालसम्म ६ सयभन्दा बढी नेपालीले विवरण दर्ता गराइसकेका छन्। मन्त्रालयले दोस्रोपटक ट्राभल एड्भाइजरी जारी गर्दै नेपालबाट इजरायल तथा मध्यपूर्वका अन्य मुलुकहरूमा हाललाई यात्रा नगर्न समेत अनुरोध गरेको छ।

इजरायली राजदूतसँग भेट

यसै सन्दर्भमा मन्त्री डा. राणाले नेपालका लागि इजरायलका राजदूत स्मुलिक एरी बाससँग भेट गर्दै इजरायलमा रहेका नेपाली नागरिकहरूको सुरक्षाका लागि आवश्यक व्यवस्था मिलाउन आग्रह गर्नुभएको थियो।

राजदूतावासहरूलाई निर्देशन

इजरायलस्थित नेपाली राजदूतावास र इरान हेर्ने कतारस्थित नेपाली राजदूतावासलाई मन्त्रालयले सम्बन्धित अधिकारी, संघसंस्था र नेपाली समुदायसँग प्रत्यक्ष सम्पर्कमा रही अवस्थाको रियल टाइम रिपोर्टिङ गर्न निर्देशन दिएको छ।

हाल इजरायलमा झण्डै ५ हजार ५ सयदेखि ७ हजार नेपाली रहेका छन्, जो मुख्य रूपमा तेल अबिब, जेरुसेलम र हाइफामा कार्यरत छन्। त्यस्तै, इरानमा १८ जना नेपाली रहेका छन्।