
चितवन । लामो समयदेखि शिक्षा तथा राजनीतिमा सक्रिय नेता तथा नेकपा (एमाले) राष्ट्रिय सल्लाहकार परिषद्का केन्द्रीय सदस्य भरत प्रसाद साह औपचारिक रूपमा नेकपा (माओवादी केन्द्र)मा प्रवेश गर्नुभएको छ।
चितवनमा आयोजित विशेष कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को हातबाट टीका ग्रहण गर्दै साह माओवादी केन्द्रमा प्रवेश गर्नुभएको हो।
बारा जिल्लाको कलैया उपमहानगरपालिका–५ निवासी साहले २०३५ सालमा अखिल (पाँचौं) का बारा जिल्ला अध्यक्षको रूपमा आफ्नो राजनीतिक यात्रा सुरु गर्नुभएको थियो। त्यसपछि २०३७ र २०३८ सालमा ठाकुरराम कलेजमा दुई कार्यकाल स्ववियु सदस्यका रूपमा निर्वाचित भई सक्रिय विद्यार्थी राजनीति गर्नु भएको थियो।
२०५४ देखि २०५९ सालसम्म एमाले शिक्षक संगठन बारा जिल्ला अध्यक्ष तथा २०६१ मा नेपाल शिक्षक युनियन बारा अध्यक्ष रहनुभएका साह २०७१ सालमा सोही संगठनको केन्द्रीय अध्यक्षसमेत बन्नुभएको थियो। शिक्षा क्षेत्रको संगठनात्मक नेतृत्वमा उहाँको योगदान उल्लेखनीय रहँदै आएको छ।
राजनीतिमा स्थिर, अनुभवी र बौद्धिक नेताका रूपमा चिनिनु भएका साह हालसम्म नेकपा (एमाले) राष्ट्रिय सल्लाहकार परिषद्मा आवद्ध हुनुहुन्थ्यो। तर, एमाले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै उहाँले माओवादी केन्द्र रोज्नुभएको बताइएको छ।
पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष प्रचण्डले साहको आगमनले पार्टीलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभयो। साहको प्रवेशसँगै माओवादी केन्द्रले बारा तथा मधेसमा आफ्नो राजनीतिक उपस्थिति थप सशक्त बनाउने अपेक्षा गरिएको छ।












