‘अभिमन्यु : च्याप्टर–१’ को प्रचार एआई भिडियोमार्फत, यतिसहितको रोचक प्रस्तुतिसहित

-


     हिडन खबर    
     असार ४ गते २०८२ मा प्रकाशित


काठमाडौं ।
चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’ ले सार्वजनिक रूपमा प्रचार अभियान सुरु गरेको छ । यद्यपि फिल्मको प्रदर्शन मिति केही पछि तोकिएको छ, निर्माणपक्षले भने अहिले नै प्रचार–प्रसारमा सक्रियता देखाएको हो ।

प्रकाशित एआई भिडियोमा रहस्यमयी हिममानव यति सिनेमा हलको बक्सअफिसमा पुगेको दृश्य देखाइएको छ । उनले ‘अभिमन्यु’ कहिले रिलिज हुन्छ भनेर सोधेको दृश्यमार्फत हिमाली क्षेत्रमा हल नभएकाले फिल्म हेर्न सहर झर्नुपर्ने सन्देश दिइएको छ ।

अर्काे भिडियोमा यतिले आफूले अघिल्लो चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ पनि हेरेको उल्लेख गर्दै ‘अभिमन्यु : च्याप्टर–१’ पनि हेर्न जाने बताएको छ । यतिले सिनेमा भदौ २७ गते प्रदर्शन हुने जानकारीसमेत दिन्छन् ।

उच्च बजेट आवश्यक पर्ने दृश्यहरूलाई एआईको प्रयोगमार्फत सहज रूपमा तयार पारिएको छ । यसबाट नेपाली सिनेमामा प्रविधिको प्रयोगमार्फत प्रचारमा विविध सम्भावना खुल्ने स्पष्ट भएको छ ।

तर यति पात्रलाई प्रचारमा समावेश गर्नु कुनै गहिरो सन्देश हो कि संयोग मात्रै भन्नेबारे निर्माणपक्षले औपचारिक धारणा सार्वजनिक गरिसकेको छैन । तर चाहाना भएमा निर्माणपक्षले एआई प्रविधिको सस्तो र प्रभावकारी उपयोगमार्फत प्रचार गर्न सकिने उदाहरण भने देखाएको छ ।

यसअघि नै निर्माणपक्षले ‘अभिमन्यु : च्याप्टर–१’ को १०० दिने काउन्टडाउन पोस्टर सार्वजनिक गर्दै प्रचार सुरु गरिसकेको थियो । हाल फिल्म पोस्ट–प्रोडक्सनको चरणमा रहेको छ ।

चलचित्रमा सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, किरण श्रेष्ठ, प्रकाश दाहाल, कामेश्वर चौरासिया र सुष्मा निरौलाको प्रमुख भूमिका छ ।

कथावस्तु:
फिल्म पैसाको लोभमा फसेको एक पात्रको चक्रव्यूहबाट उम्कन खोज्ने संघर्षमा आधारित रहेको बताइएको छ ।

निर्माण पक्ष:
सेभेन सिज सिनेमाको ब्यानरमा निर्माण भएको चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’ का निर्देशक सुशान्त गौतम हुन्, जसको यो निर्देशन डेब्यु हो ।

फिल्मको कथा मुकेश खनालले लेखेका हुन् भने क्रिएटिभ निर्देशक मदन थापा हुन्, जसले यसअघि ‘बाटो : रोड टु डेथ’ निर्देशन गरेका थिए ।

चलचित्रका निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् । सह–निर्मातामा रमेश चौलागाई र हरि श्रेष्ठ तथा कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ रहेका छन् ।

लाइन प्रोड्यूसर जीवन शाक्य, सम्पादक मदन घिमिरे, निर्माण नियन्त्रक सरोज श्रेष्ठ, मुख्य सहायक निर्देशक आकाश उखेडा तथा छायांकन निर्देशक (DOP) शरद महतो हुन् ।

यो चलचित्र नेपाली र हिन्दी भाषामा विश्वव्यापी रूपमा एकसाथ प्रदर्शन हुने जनाइएको छ ।