
बागलुङ — असार ३
लागू औषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस बागलुङमा यस वर्ष सप्ताहव्यापी कार्यक्रमसहित मनाइने भएको छ। हरेक वर्ष जुन २६ मा मनाइने यस दिवसलाई लक्षित गर्दै जिल्लामा असार ६ गतेदेखि १२ गतेसम्म विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ।
बागलुङका प्रमुख जिल्ला अधिकारी कुमान सिंह गुरुङका अनुसार विभिन्न सरकारी निकाय, संघ–संस्था तथा सरोकारवालाको सहकार्यमा कार्यक्रमहरू तय गरिएको हो। मंगलबार जिल्ला प्रशासन कार्यालयमा आयोजित बैठकमा सुरक्षा निकाय, उद्योग वाणिज्य संघ, रेडक्रस, यातायात व्यवसायी, गैरसरकारी संस्था महासंघ, प्याब्सन, एन–प्याब्सन, पुनःस्थापना केन्द्र, पत्रकारलगायत सरोकारवाला प्रतिनिधिहरूको उपस्थितिमा कार्यक्रमको खाका तय गरिएको थियो।
सप्ताहव्यापी कार्यक्रमको विवरण:
असार ६ — जिल्ला प्रशासन कार्यालयको समन्वयमा बागलुङ बजारमा प्रभातफेरी तथा लागू औषध नियन्त्रणसम्बन्धी अन्तरक्रिया कार्यक्रमको उद्घाटन।
असार ८ — जिल्ला प्रहरी कार्यालयको समन्वयमा १० वटै स्थानीय तहसँग सहकार्य गरी विद्यालय तथा कलेजमा लागू औषधविरुद्ध सचेतनामूलक कक्षा सञ्चालन।
असार ९ — जिल्लामा सञ्चालित उपचार तथा पुनःस्थापना केन्द्रहरूको सेवा, सफल उपचार विवरण र शुल्कसम्बन्धी जानकारी सार्वजनिक। सशस्त्र प्रहरी र नेपाल प्रहरीको सहकार्यमा सीमा नाका र यातायात साधनमा कडा निगरानी।
असार १० — शिक्षा विकास तथा समन्वय इकाइको संयोजनमा “लागू औषधमुक्त समाज निर्माणमा युवा र समुदायको भूमिका” विषयमा अन्तरक्रिया, संवाद तथा वक्तृत्वकला प्रतियोगिता।
असार ११ — जिल्ला समन्वय समितिको समन्वयमा लागू औषध नियन्त्रणसम्बन्धी नीति, कार्यक्रम र बजेटलाई मुख्य धारमा ल्याउने विषयमा स्थानीय तहसँग छलफल।
असार १२ — बागलुङ बजारमा प्रभातफेरीसहित सप्ताहव्यापी कार्यक्रमको समापन।
प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार लागू औषधको दुरुपयोगविरुद्ध जनचेतना अभिवृद्धि गर्नु सप्ताहको मूल उद्देश्य हो।










