
काठमाडौँ, असार २ — परराष्ट्रमन्त्री डा. आरजु राना देउवाले हाल इजरायल र इरानबीच जारी तनावपूर्ण परिस्थितिबारे नेपालका लागि इजरायली राजदूत स्मुलिम एरी बाससँग जानकारी लिनुभएको छ।
आज परराष्ट्र मन्त्रालयमा भएको भेटमा मन्त्री रानाले द्वन्द्वका पछिल्ला घटनाक्रमका साथै इजरायलमा रहेका नेपालीहरूको सुरक्षास्थितिका बारेमा चासो व्यक्त गर्दै आवश्यक सहयोग र सुरक्षाका लागि इजरायली सरकारलाई अनुरोध गर्न राजदूतमार्फत आग्रह गर्नुभएको हो।
राजदूत बासले इजरायलस्थित नेपालीहरू हाल सुरक्षित रहेको जानकारी गराएका थिए।
यसअघि, आइतबार परराष्ट्र मन्त्रालयले विज्ञप्ति प्रकाशित गरी इजरायल र इरानमा रहेका नेपालीहरू सुरक्षित रहेको जनाउँदै सरकारले उनीहरूको सुरक्षामा ध्यान दिइरहेको उल्लेख गरेको थियो।
पछिल्ला घटनाक्रमसँगै परराष्ट्रमन्त्री डा. रानाले तेल अभिभ र दोहास्थित नेपाली राजदूतहरूसँग टेलिफोन सम्पर्क गर्दै त्यहाँ रहेका नेपाली नागरिकको सुरक्षामा विशेष ध्यान दिन निर्देशन दिनुभएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार नेपाल सरकारले द्वन्द्वको विकासक्रमलाई नजिकबाट नियालिरहेको छ र आवश्यकता अनुसार नेपाली नागरिकको सुरक्षाका लागि उपयुक्त कदम चाल्ने तयारीमा छ।









