
भरतपुरबाहेक काँग्रेसले ४, माओवादी केन्द्र र एकीकृत समाजवादीले १/१ वटा पालिका पाउने
चितवन । नेपाली कांग्रेस ,माआेवादी केन्द्र ,एकीकृत समाजवादी ,पार्टी सहितको सत्तारुढ गठबन्धनका दलहरुले चितवनका स्थानीय तहमा भागबण्डा टुङ्ग्याएका छन् ।ठूलो रस्साकस्सि बिच चितवनको भरतपुर महानगरपालिकाको भागबण्डा केन्द्रले टुङ्ग्याएसँगै सत्तारुढ गठबन्धनका दलहरुले सो बाहेकका ६ पालिकाको प्रमुख र उपप्रमुख पदको भागबण्डा सहमतिमा टुंगोमा पुर्याउन सफल भएका छन् ।
जिल्लाको एक गाउँपालिका र ५ नगरपालिकाको प्रमुख र उपप्रमुख पदको भागबण्डाका बारेमा सत्तारुढ गठबन्धनका दलहरु नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीबीच सहमति भएको हो ।
सहमति अनुसार काँग्रेसले ४ वटा पालिकाको प्रमुख, माओवादी केन्द्र र एकीकृत समाजवादीले एक÷एक वटा पालिका प्रमुख लिने भएका छन् । काँग्रेसले चितवनको इच्छाकामना गाउँपालिका, रत्ननगर नगरपालिका, खैरहनी नगरपालिका र कालिका नगरपालिकाको प्रमुख पद लिने सहमति भएको गठबन्धनको जिल्ला संयन्त्रको बैठकमा सहभागी एक नेताले बताउनुभयाे ।
माओवादी केन्द्रले माडी नगरपालिकाको प्रमुख पद लिने भएको छ भने एकीकृत समाजवादीले राप्ती नगरपालिकाको प्रमुख लिने भएको छ । यता गठबन्धनको चितवनको जिल्ला संयन्त्रले जिल्ला समन्वय समिति प्रमुख र उपप्रमुखसहित सदस्यहरुको समेत भमगबण्डा मिलाउन सफल भएको छ ।
स्थानीय निर्वाचन लगत्तै हुने जिल्ला समन्वय समिति चितवनको प्रमुख पद काँग्रेसले लिने भएको छ भने उपप्रमुख पद माओवादी केन्द्रले लिएको छ । जिल्ला समन्वय समितिको सदस्य पदमा तीन वटै दलहरुले २/२ वटा सिट लिने सहमति भएको छ ।
त्यस्तै इच्छाकामना गाउँपालिका, खैरहनी र कालिका नगरपालिकाको उपप्रमुख पद माओवादी केन्द्रले पाएको छ । रत्ननगर नगरपालिकाको उपप्रमुख पद एकीकृत समाजवादीले पाएको छ भने माडी नगरपालिकाको उपप्रमुख पद काँग्रेसको भागमा परेको छ ।
गठबन्धनको बैठकले इच्छाकामना गाउँपालिकाको वडा तहको भागबण्डा समेत टुङ्ग्याएको छ । जसअनुसार इच्छाकामना गाउँपालिकाको वडा नम्बर १, २ र ३ माओवादी केन्द्रले लिने भएको छ भने ४, ५, ६ र ७ काँग्रेसको भागमा परेको छ । सो पालिकाको केही वडा सदस्य पद एकीकृत समाजवादीले लिने सहमति भएको छ ।












