
काठमाडौं ।
चलचित्र ‘मिरमिरे’ मा अभिनेत्री सिर्जना निङलेखु अनुबन्धित भएकी छन् । यसअघि अभिनेता दयाहाङ राई र गायक/अभिनेता प्रकाश सपूत अनुबन्धित भइसकेपछि सिर्जनाको प्रवेश भएको हो ।
सिर्जनाले यसअघि ‘कार्साङ’ चलचित्रमा मुख्य भूमिका निभाएकी थिइन्, जहाँ उनको अभिनयको तारिफ भएको थियो । पहिलो चलचित्रमै दयाहाङ राईसँग सहकार्य गरेकी उनी दोस्रो चलचित्र ‘मिरमिरे’ मा पनि दयाहाङसँगै देखिने भएकी हुन् ।
चलचित्रमा अनुबन्धित भएपछि अभिनेत्री निङले भनिन्, “‘मिरमिरे’ मा महत्वपूर्ण भूमिकाका लागि अनुबन्धित हुन पाउँदा म अत्यन्तै खुसी छु । यो विश्वासका लागि निर्माण टिम र निर्देशकलाई धन्यवाद दिन चाहन्छु ।” साथै, उनले आफूलाई दिइएको जिम्मेवारीलाई जिम्मेवारीपूर्वक निभाउने प्रतिबद्धता पनि जनाइन् ।
तर, चलचित्रमा सिर्जनाको जोडी को हुने भन्ने विषयमा भने निर्माण टिमले हालसम्म केही खुलाएको छैन । अन्य कलाकारहरूको नाम सार्वजनिक भइनसके पनि हालसम्मको कलाकार संयोजन हेर्दा चलचित्रको लाइनअप बलियो देखिएको छ ।
‘मिरमिरे’ लाई निर्देशक यम शेर्पाले निर्देशन गर्दैछन् । उनले ग्रामीण परिवेशमा आधारित सामाजिक कथालाई चलचित्रमार्फत प्रस्तुत गरिने जनाएका छन् । साथै, चलचित्रको कथा पनि निर्देशक यम शेर्पाले नै लेखेका हुन् ।
यार्सा फिल्म्सको ब्यानरमा निर्माण भइरहेको यो चलचित्रका निर्माता निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङछिरिङ शेर्पा हुन् । सह–निर्माताहरूमा गोविन्द बोहरा, सुदीप कुँवर र ईश्वर श्रेष्ठ रहेका छन् । कार्यकारी निर्माता भने आरआर फिल्म्सका सञ्चालक एवं वितरक रोहित कट्टेल हुन् ।
‘मिरमिरे’ चलचित्र सन् २०८२ मा प्रदर्शनमा आउने तयारीमा रहेको छ । यद्यपि प्रदर्शन मिति भने तय गरिएको छैन । चलचित्रलाई आरआर फिल्म्सले वितरण गर्नेछ ।














