
तनहुँ — सामाजिक अभियन्ता रिता परियारले आफ्नो जन्मदिनको अवसर पारेर क्यान्सर पीडित एक नेपालीलाई आर्थिक सहयोग गरेकी छन्।
गोरखा जिल्लाको शहीद लखन गाउँपालिका–२ की स्थायी बासिन्दा परियारले तनहुँको म्याग्दे गाउँपालिका–५, थाङ्दीका यमबहादुर नेपालीलाई सहयोग गरेकी हुन्। जिब्रोको क्यान्सरबाट पीडित यमबहादुर विगत एक वर्षदेखि उपचारको अभावमा संघर्षरत छन्।
आर्थिक अवस्था कमजोर भएकाले उपचार गर्न नसकिरहेका यमबहादुरका लागि विभिन्न माध्यमबाट सहयोग संकलनको अभियान चलाइएको छ।
विगत केही वर्षदेखि नर्वेमा बसोबास गर्दै आएकी परियारले क्यान्सर, मृगौला लगायत गम्भीर रोगबाट पीडित तथा विपन्न परिवारहरूलाई निरन्तर सहयोग गर्दै आएकी छन्।












