
काठमाडौं, २९ जेठ – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाल र भारतबीचको साझा समृद्धिको आधार संयुक्त साझेदारी र बहुआयामिक कनेक्टिभिटी रहेको बताउनुभएको छ।
नेपाल–भारत रणनीतिक संवाद विषयक कार्यक्रममा आज काठमाडौंमा बोल्दै मन्त्री डा. राणाले व्यापार, पारवहन, लगानीलगायतका क्षेत्रलाई जोड्दै आर्थिक साझेदारीलाई कनेक्टिभिटीमार्फत अघि बढाउनुपर्नेमा जोड दिनुभयो।
“म त्यो भविष्यको कल्पना गर्छु, जहाँ नेपाली किसानको अदुवा २४ घण्टामा मुम्बई पुग्छ, र एक भारतीय पर्यटक बिहान दिल्लीमा बैठक सकेर साँझ पोखरा उत्रन्छ,” उहाँले भन्नुभयो, “यस्तो निकटता दुई देशका नागरिकको समृद्धिको आधार बनोस्।”
नेपाल–भारत सम्बन्ध सभ्यताको आरम्भबाटै साझा मूल्य, संस्कृति र भावना आधारित रहेको उल्लेख गर्दै मन्त्री डा. राणाले जन–सम्पर्क, सहकार्य र सम्पर्क सञ्जाल (कनेक्टिभिटी) ले दुवै देशको उज्ज्वल भविष्य निर्माणमा सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो।
उहाँले सडक, रेलवे, जलमार्ग, हवाईमार्ग तथा डिजिटल पूर्वाधारजस्ता क्षेत्रमा लगानी बढाएर पारस्परिक सम्पर्क सञ्जाललाई सुदृढ बनाउनुपर्ने आवश्यकता औंल्याउनुभयो।
“दुई देशबीचको निर्वाध सम्पर्क सञ्जालले क्षेत्रीय तथा विश्वव्यापी आपूर्ति शृंखलामा मात्र होइन, पारवहन व्यापार र सीमा क्षेत्रको अर्थतन्त्रलाई पनि स्तरोन्नति गर्न सक्नेछ,” उहाँले स्पष्ट पार्नुभयो।
डिजिटल युगमा साझेदारीको आवश्यकता
विश्व अर्थतन्त्र अहिले ज्ञान–आधारित, सेवा–मुखी र डिजिटल प्रविधितर्फ केन्द्रित भएको सन्दर्भमा मन्त्री डा. राणाले नेपाल–भारतले पनि डिजिटल अर्थतन्त्र, प्रविधि, नवप्रवर्तन, आधुनिक शिक्षा, सीप विकास र रचनात्मक अर्थतन्त्रतर्फ साझेदार प्रयास गर्नुपर्ने धारणा राख्नुभयो।
ऊर्जा क्षेत्र सहकार्यको प्रमुख उदाहरण
नेपाल र भारतबीच ऊर्जा क्षेत्र सहयोगको मुख्य आधार भएको उल्लेख गर्दै उहाँले भारतले आगामी दशकमा १० हजार मेगावाट विद्युत नेपालबाट आयात गर्ने प्रतिबद्धता नेपालको जलविद्युत सम्भावनाको अन्तर्राष्ट्रिय उपयोगको ठोस संकेत भएको बताउनुभयो।
प्रसारण लाइन अन्तरसम्बन्ध, ग्रिड कनेक्टिभिटी, सीमापार विद्युत व्यापार लगायतका क्षेत्रहरूमा दुवै देशबीचको सहकार्यलाई अझ मजबुत बनाउँदै लगिएको उहाँको भनाइ थियो।
युवा, प्रविधि र नवप्रवर्तनमा साझेदारीको जोड
भारतमा रहेको डिजिटल सीप र नवप्रवर्तन तथा नेपालमा बढ्दो युवा जनसंख्यालाई लक्षित गर्दै डा. राणाले भन्नुभयो, “हामीले टेक हब, स्टार्टअप र डिजिटल नवप्रवर्तन प्लेटफर्महरूमा संयुक्त सहकार्य गर्दै युवाहरूलाई प्रविधिको माध्यमबाट समृद्धिको बाटोमा अघि बढाउन प्रोत्साहित गर्नुपर्छ।”
सगरमाथा संवादप्रति आभार
विश्वमा भइरहेको द्रुत प्राविधिक परिवर्तन, भूराजनीतिक चुनौती र जलवायु संकटको सन्दर्भमा दुई देशबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै मन्त्री डा. राणाले सगरमाथा संवादको पहिलो संस्करणमा भारत सरकारको सहयोगप्रति आभार प्रकट गर्नुभयो।
नेपालले आफ्ना छिमेकीहरूसँग सहकार्य गर्दै शान्ति, स्थिरता र समृद्धिको नयाँ युगमा प्रवेश गर्ने अपेक्षा लिएको उल्लेख गर्दै उहाँले यस्ता रणनीतिक संवादहरूले नेपाल–भारत सम्बन्धलाई अझ गहिरो बनाउने र जनता–जनता बीचको सम्पर्कलाई मजबुत पार्ने विश्वास व्यक्त गर्नुभयो।









