
काठमाडौं, २०७८ जेठ २७ —
अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) परित्याग गर्दै कर्णाली प्रदेशका अध्यक्ष देबीकृष्ण न्यौपानेसहित दर्जनौं नेता तथा कार्यकर्ताहरू नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) मा प्रवेश गरेका छन्।
खुमलटारस्थित पार्टी अध्यक्षको निवासमा आयोजित विशेष कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उनीहरूलाई पार्टीमा स्वागत गरे।
कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले माओवादी केन्द्र सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानमा समर्पित रहेको बताउँदै समाजवादी क्रान्तिलाई नयाँ चरणमा लैजान विगतका गल्ती र कमजोरीहरू सच्याउँदै पुनः जनतासँग जोडिने अभियान सञ्चालन भइरहेको जानकारी दिए।
“यस किसिमको पार्टी प्रवेश र समायोजनले हाम्रो अभियानलाई थप ऊर्जा र उत्साह प्रदान गर्नेछ,” उनले भने।
उनले माओवादी केन्द्रप्रति आकर्षण बढ्दो रहेको उल्लेख गर्दै पार्टीमा समाहित हुने कार्यकर्तालाई योग्यताअनुसार जिम्मेवारी प्रदान गरिने स्पष्ट पारे।










