
पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा सोमबार यज्ञको पूर्णाहुति सम्पन्न भएको छ। धार्मिक गुरु कालिदास वावा (काली बाबा)ले विशेष पूजासहित यज्ञको पूर्णाहुति गरेका हुन्।
अमेरिकाबाट भारतको दिल्ली हुँदै काठमाडौं हुँदै पोखरा आइपुगेका काली बाबाले यज्ञमा उपस्थित भई पूर्णाहुति दिएका हुन्। महायज्ञका संकल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजका अनुसार लामो दूरीको यात्रा तय गरेर यज्ञ सम्पन्न गर्न काली बाबाले देखाएको श्रद्धा प्रशंसनीय छ।
“पूर्णाहुति कसबाट गराउने भन्ने प्रश्नमा समय अभाव थियो,” महाराजले भने, “यति लामो यात्रा गरेर उहाँ आउनुभयो, यसप्रति हामी आभारी छौं। उहाँको उपस्थिति यज्ञलाई अझ पवित्र बनाएको छ।”

काली बाबाले बालयोगेश्वर महाराजलाई ‘यज्ञ सम्राट’ को उपमा दिँदै भने, “यस्तो भव्य कोटिहोम न अघिल्लो पुस्तामा देखिएको छ न सायद भविष्यमा यति भव्य हुनेछ। यस्ता महान कार्यका लागि म उहाँलाई कोटि–कोटि नमन गर्दछु।”
महायज्ञको प्रचारप्रसार संयोजक लेखराज ढकालका अनुसार पूर्णाहुति पश्चात होम, पाठ र अन्य धार्मिक गतिविधिहरू औपचारिक रूपमा आजै समापन गरिएका छन्। चार सयभन्दा बढी ब्राम्हणहरूलाई सम्मानसाथ बिदाइ गरिएको छ भने व्रतबन्ध, चौरासी पूजा र अन्य कर्म पनि सम्पन्न भएका छन्।

महायज्ञ वैशाख १९ गते बिहान ६:४५ बजे अग्नि मन्थन, ७:१५ बजे यज्ञ कुण्डमा अग्नि प्रवेश र ८:०५ बजे आहुति प्रदान गरी विधिवत् रूपमा प्रारम्भ भएको थियो। दैनिक ३/३ जनाका दरले ब्राम्हणहरूले गायत्री मन्त्रद्वारा हवन गरिरहेका थिए।
यज्ञ अवधिभर १०८ श्रीमद्भागवत महापुराण पाठ, चार वेद पाठ, सप्तचण्डी, अति रुद्री र मन्त्रजप पनि सम्पन्न गरिएको संयोजक ढकालले जानकारी दिए। यज्ञ समापनपछि अभिषेक र महाप्रसाद ग्रहण गराइएको थियो।
पूर्णाहुति पश्चात भोलिदेखि तिलक र भस्म वितरण गरिने कार्यक्रम तय गरिएको छ। यज्ञमा प्रयोग गरिएका जलयुक्त कलशहरू बुकिङ गरिएकाले ती कलश भोलिदेखि भक्तजनले घर लैजान सक्नेछन्।

यसैबीच, मानव सेवा फाउन्डेसन नेपाललाई पोखरा–५ प्रस्याड निवासी गंगा केसी र उनको परिवारले २ रोपनी जग्गा दान गरेका छन्। फाउन्डेसनका व्यवस्थापक विष्णु थापाका अनुसार सो जग्गामा सामाजिक सेवा आश्रम निर्माण गरिनेछ। केसीले आवश्यक परे थप जग्गा दिन पनि तयार रहेको बताएकी छन्।
कोटिहोममा हालसम्म करिब ३० लाख भक्तजनले दर्शन गरिसकेको संयोजक ढकालले जानकारी दिए।
धार्मिक कार्यक्रममा वैदिक महर्षी फाउन्डेसन नेपालका अध्यक्ष तथा पूर्व गृहराज्यमन्त्री दीपक प्रसाद वास्कोटा, पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा. मिलन कुमार थापा, मोटिभेटर विश्वराज गौतमलगायतले कोटिहोमले धार्मिक एकता र सामाजिक सद्भावको सन्देश दिएको बताएका छन्।
यसैगरी, श्रीमती भागवत मञ्जरी दासीद्वारा जेठ १७ गतेदेखि श्रीमद्भागवत कथा वाचन भइरहेको छ, जुन जेठ ३१ गतेसम्म सञ्चालन हुने कार्यक्रम रहेको छ।
पोखरा–१७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिरको जग्गा र आसपासका स्थानीयको सहयोगमा कोटिहोम सञ्चालन भइरहेको छ। महायज्ञको अन्तिम दिन जेठ ३१ गते विशेष कार्यक्रमसहित समापन गरिनेछ।













