एनआरएनए पोर्चुगलको महाधिवेशन जुन ८ मा: अध्यक्ष पदमा बागलुङका सुजन केसीको उम्मेदवारी

-


     हिडन खबर    
     जेठ २७ गते २०८२ मा प्रकाशित


लिस्बन, पोर्चुगल – गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् पोर्चुगलको दशौं महाधिवेशन यही आउँदो जुन ८ तारिखमा सम्पन्न हुने भएको छ। सो महाधिवेशनमा अध्यक्ष पदका लागि बागलुङका युवा समाजसेवी सुजन केसीले उम्मेदवारी दिने घोषणा गरेका छन्।

एनआरएनए पोर्चुगलमा विगतदेखि नै सक्रिय रहँदै आएका केसीले संस्थाको संरचना, उद्देश्य तथा समस्याहरूको समाधान प्रक्रियासम्म राम्रो अनुभव र समझ राख्ने व्यक्ति मानिन्छन्। उनी कुनै व्यवसायी वा ठूला पुँजीपतिको प्रतिनिधि नभई श्रमिक वर्गबाट अघि आएका साधारण नेपाली नागरिक हुन्।

अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै केसीले आगामी कार्यकालका लागि आफ्नो भावी योजना पनि सार्वजनिक गरेका छन्। उनका प्रमुख एजेन्डाहरू यस प्रकार रहेका छन्:

पोर्चुगलमा सडकमा बस्न बाध्य नेपालीहरूको उचित व्यवस्थापन तथा तात्कालिक अस्थायी आश्रयको व्यवस्था,

स्थानीय संघ/संस्थासँग सहकार्य गरेर दिगो आवास योजना तथा आवास सहायता कोष स्थापनाको पहल,

कानुनी परामर्श र आपतकालीन सहायता केन्द्र स्थापना,

आप्रवासी नेपालीका लागि निःशुल्क कानुनी सल्लाह, वकिल वा अनुवादकको आवश्यक व्यवस्थापन,

श्रमिकहरूलाई शोषणबाट जोगाउन रोजगारदाता तथा सरकारी निकायसँग सहकार्य,

श्रमसम्बन्धी तालिम र सचेतना अभियान,

नेपाली समुदायका युवाहरूका लागि भाषा कक्षा, सीप विकास तालिम, छात्रवृत्ति तथा सपोर्ट प्रोग्राम,

सबै समुदायलाई समेट्ने समावेशी नेतृत्व,

महिला, युवा तथा वरिष्ठ नागरिकहरूको सहभागिता बढाउने विशेष कार्यक्रमहरू।

उम्मेदवारीसँगै उनले समावेशी, उत्तरदायी र सेवा–केन्द्रित नेतृत्वमार्फत एनआरएनए पोर्चुगललाई अझ प्रभावकारी बनाउने अठोट व्यक्त गरेका छन्।