लायन राजन लम्साल ‘आईडी इन्डोर्सी’ पदमा विजयी, अब २०२६ को हङकङ सम्मेलनमा अन्तर्राष्ट्रिय उम्मेदवार

-


     हिडन खबर    
     जेठ २७ गते २०८२ मा प्रकाशित


काठमाडाैं, जेठ २६ – लायन्स क्लब इन्टरनेशनल मल्टिपल डिष्ट्रिक्ट ३२५ नेपालले शनिबार सम्पन्न ऐतिहासिक कन्भेन्सनबाट लायन राजन लम्साललाई ‘आईडी इन्डोर्सी’ पदका लागि विजयी घोषित गरेको छ।

काठमाडौंमा सम्पन्न मतदानमा लम्सालले कुल १,३८७ मत प्राप्त गर्दै प्रतिस्पर्धी लायन खगेन्द्र सिटौलालाई ८५६ मतको स्पष्ट अन्तरले पछि पारेका हुन्। सिटौलाले ५३१ मत ल्याएका थिए।

यस जितसँगै लम्साल अब सन् २०२६ मा हङकङमा हुने लायन्स क्लब इन्टरनेशनलको विश्व सम्मेलनमा नेपालबाट ‘इन्टरनेशनल डाइरेक्टर’ पदका लागि आधिकारिक उम्मेदवार बन्नेछन्।

तीन दशक लामो सामाजिक यात्रा

स्याङ्जाको ग्रामीण भेगबाट उदाएका लम्सालले सन् १९९७ मा संखुवासभाको खाँदबारीस्थित लायन्स क्लबमार्फत आफ्नो औपचारिक लायन यात्रा सुरु गरेका थिए। नेतृत्व क्षमताको पहिचानसहित सन् २०१०/११ मा उनी डिष्ट्रिक्ट ३२५ बी नेपालका गभर्नर बने।

पूर्व मल्टिपल काउन्सिल चेयरपर्सन तथा हाल एलसीआईएफ एरिया लिडरको रूपमा कार्यरत लम्सालले हाल नेपालभरिका १५ डिष्ट्रिक्ट प्रतिनिधिहरूको व्यापक समर्थन प्राप्त गरेका छन्।

उनको नेतृत्वमा दृष्टिविहीनता निवारण, छात्रवृत्ति, स्वास्थ्य शिविर, पुस्तकालय, अस्पताल, खानेपानीजस्ता समाजोपयोगी कार्यक्रमहरू संचालन हुँदै आएका छन्। कपिलवस्तुदेखि रूपन्देही, दाङ, नवलपरासीसम्म उनले आफ्नै उपस्थितिमा मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया गराएका छन्।

सामाजिक अभियान र संस्थागत योगदान

लम्सालले स्थापना गरेको ‘लायन्स मनराम प्रतिष्ठान’ मार्फत हालसम्म १३३ पुस्तकालय स्थापना भएका छन्। यस्तै, ‘सहयोगी हातहरू’ संस्था मार्फत शिक्षा, स्वास्थ्य तथा पूर्वाधार निर्माणमा उनले उल्लेखनीय योगदान पुर्‍याएका छन्।

सन् २००६ मा ट्युनिसियामा सम्पन्न वरिष्ठ लायन नेतृत्व प्रशिक्षणमा सहभागी भइसकेका लम्सालले अमेरिका, फ्रान्स, जर्मनी, जापान, स्वीजरल्याण्ड, इटलीसहित २५ भन्दा बढी देशको भ्रमण गरी विभिन्न लायन परियोजनाहरूको अनुभव लिएका छन्।

प्रेरणा, समर्थन र सफल दम्पती

लायन रामबहादुर श्रेष्ठको प्रेरणामा सामाजिक सेवातर्फ लागेका लम्सालले ‘मनराम शिक्षाकोष’ स्थापना गरेका थिए, जसले सयौं विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिरहेको छ।

उनकी जीवनसाथी इन्दु लम्साल पनि लायन्स आन्दोलनमा अग्रणी व्यक्तित्व हुन्। सन् २०१९/२० मा उनी डिष्ट्रिक्ट गभर्नर भइ नेपालकै पहिलो ‘एम्बेसडर अफ गुडविल’ उपाधि प्राप्त गर्ने महिला बन्न सफल भएकी थिइन्। लम्साल दम्पती नेपालकै पहिलो ‘डिष्ट्रिक्ट गभर्नर’ पति–पत्नी जोडीका रूपमा परिचित छन्।

अन्तर्राष्ट्रिय यात्रातर्फको सशक्त पाइला

लायन राजन लम्सालको यो जित केवल व्यक्तिगत उचाइ मात्र होइन, नेपाली लायन्स आन्दोलनको अन्तर्राष्ट्रिय पहिचान विस्तारतर्फको सशक्त पाइला पनि हो।

अब हङकङ सम्मेलनमार्फत अन्तर्राष्ट्रिय नेतृत्वमा पुग्ने सम्भावना झनै बलियो बनेको छ। उनको कर्म, दूरदृष्टि र समर्पणले नेपाली लायन समुदायमा मात्र नभई विश्वस्तरमा समेत प्रेरणाको स्रोत बनिरहेको छ।