सिवाईसीको आयोजनामा विपद् व्यवस्थापन सिप विकास तालिम सम्पन्न

-


     हिडन खबर    
     जेठ २५ गते २०८२ मा प्रकाशित


२४ जेठ २०८२, बागलुङ
सिवाईसी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, बागलुङको आयोजनामा र चारतारे युवा क्लब सिवाईसी नेपालको सहकार्यमा बागलुङ बजारमा एकदिने विपद् व्यवस्थापन सिप विकास तालिम सम्पन्न भएको छ।

तालिमको उद्देश्य विपद् आउनु अघिको पूर्वतयारी, विपद् दौरानको प्रतिकार्य, र विपद् पछिको पुनःस्थापनाको प्रक्रियामा सहभागीहरूलाई सक्रिय, सजग र दक्ष बनाउनु थियो। तालिममा सिवाईसी साकोसको केन्द्रीय तथा सेवाकेन्द्रस्तरमा गठित विपद् व्यवस्थापन उपसमिति र कार्यदलका १३२ जनाको सहभागिता रहेको थियो।

कार्यक्रमको उद्घाटन सत्रमा प्रमुख अतिथि एवं बागलुङका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले विपद् व्यवस्थापनमा स्थानीय तह, समुदाय र संस्थाबीचको समन्वय अत्यावश्यक रहेको बताउँदै, यस्ता तालिमहरू सामाजिक उत्तरदायित्व अन्तर्गत सहकारी संस्थाहरूले अगाडि ल्याउनु सराहनीय पहल भएको उल्लेख गर्नुभयो।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी, बागलुङका उपसभापति सीता शर्मा, उद्योग वाणिज्य संघका द्वितीय उपाध्यक्ष केशवप्रसाद वझालगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो।

तालिममा सहभागीहरूलाई प्राथमिक उपचार, उद्धार कार्य, सुरक्षित स्थल व्यवस्थापन, जनचेतना अभिवृद्धि, र समुदायस्तरमा समन्वयात्मक अभ्यासहरू गराइएको थियो। तालिमले सहभागी कार्यदलहरूलाई विपद् जोखिमप्रति सजग बनाउँदै व्यावहारिक समाधानका उपायहरू पनि सिकाएको थियो।

तालिम सहजिकरण सशस्त्र प्रहरी बल आश्रित गुल्मका प्रहरी नायब उपरीक्षक दिलबहादुर रायमाझी, श्री कालिजंग गण घोडाबाँधेका सहायक सेनानी खगेन्द्र चन्द, तथा बागलुङ नगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत विष्णुप्रसाद शर्माले गर्नुभएको थियो।

कार्यक्रमका क्रममा सिवाईसी साकोसका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले विपद् व्यवस्थापन कार्यदलको उद्देश्य, जिम्मेवारी र अधिकारबारे जानकारी गराउँदै, संकटको बेला तत्काल राहत, उद्धार र समन्वय सुनिश्चित गर्न कार्यदल गठन गरिएको बताउनुभयो। सेवा केन्द्रमै संरचनागत रूपमा जिम्मेवारी बाँडफाँड गरिएकाले यसले समुदायमा विपद् प्रतिकार्य क्षमतामा उल्लेखनीय सुधार ल्याउने अपेक्षा राखिएको पनि उहाँले जोड दिनुभयो।

कार्यक्रम सिवाईसी साकोसका अध्यक्ष पौडेलको अध्यक्षता, उपाध्यक्ष सीता सापकोटाको स्वागत मन्तव्य र सहसचिव सुवास आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो।

समापन सत्रमा विपद् व्यवस्थापन उपसमितिका केन्द्रिय संयोजक भोलानाथ आचार्य, सहभागिहरूको तर्फबाट मंगल सदस्य सेवाकेन्द्रका कोषाध्यक्ष सरस्वती शर्मा र मालिका सदस्य सेवाकेन्द्रका संयोजक बलराम सापकोटाले मन्तव्य राख्नुभएको थियो। धन्यवाद ज्ञापन सिवाईसी नेपालका सचिव विरबहादुर किसानले गर्नुभएको थियो।

धवलागिरी अञ्चलका तीन जिल्लामा २५ वटा सदस्य सेवाकेन्द्रमार्फत सेवा दिइरहेको सिवाईसीमा हाल २६,८०० सेयर सदस्य, ६,४०० बाल बचतकर्ता, ५,७०० ऋणी सदस्य छन्। संस्थाको सेयर पूँजी ३९ करोड ४१ लाख, बचत रकम १ अर्ब ५५ करोड, लगानीमा बाँकी रहेको ऋण १ अर्ब ३६ करोड, संस्थागत कोष २० करोड, र कुल सम्पत्ति २ अर्ब ३६ करोड रहेको जनाएको छ।