परराष्ट्रमन्त्री डा. आरजु राणाको आग्रहः जनताको खाँचोअनुसारको सेवामा संवेदनशील बन्नुहोस्

-


     हिडन खबर    
     जेठ २५ गते २०८२ मा प्रकाशित


धनगढी, २४ जेठ। परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जनताको आवश्यकता र प्रत्यक्ष खाँचोसँग जोडिएका सेवा क्षेत्रमा कार्यरत राष्ट्रसेवक कर्मचारीहरू संवेदनशील र जिम्मेवार बन्नुपर्ने आग्रह गर्नुभएको छ।

शुक्रबार धनगढीमा राहदानी विभागद्वारा आयोजित अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री राणाले सुदूरपश्चिम प्रदेशका सबै जिल्लाका जिल्ला प्रशासन कार्यालयमा राहदानी सेवामा कार्यरत कर्मचारीहरूसँग उक्त आग्रह गर्नुभएको हो।

उहाँले भन्नुभयो, “राहदानी अब कुनै विलासिताको वस्तु नभएर नागरिकको आधारभूत अधिकार बनेको छ। त्यसैले सेवा दिने ‘फ्रन्ट डेस्क’मा बस्ने तपाईंहरू सबैभन्दा जिम्मेवार हुनुहुन्छ। जनताको खाँचोलाई गम्भीरताका साथ बुझेर सेवा दिनुहोस्।”

मन्त्री राणाले यस्तो संवेदनशील सेवा क्षेत्रमा कार्यरत कर्मचारीहरूले नागरिकका समस्यालाई पहिलो प्राथमिकतामा राख्नुपर्ने र उनीहरूलाई छिटोछरितो तथा सहज सेवा कसरी दिन सकिन्छ भन्नेबारे सोच्नुपर्ने सुझाव दिनुभयो।

सुदूरपश्चिम तथा अन्य दुर्गम क्षेत्रका नागरिकहरूले अझ सहज रुपमा राहदानी सेवा पाउने व्यवस्था मिलाउन सरकार प्रयासरत रहेको मन्त्री राणाले जानकारी दिनुभयो।

उहाँले थप्नुभयो, “पहिलेजस्तो जटिल अवस्था अब छैन, तर सेवा वितरणका क्रममा अझै केही समस्या आइरहेको सुनेकी छु। सरकारी सेवा छिटो र सहज पाइयोस् भन्ने अपेक्षा जनताको स्वाभाविक अधिकार हो। त्यसैले सेवा सरल, सहज र पहुँचयोग्य बनाउन तपाईंहरूको भूमिका महत्त्वपूर्ण छ।”

राहदानी सेवामा देखिएका समस्या र सुधारका सम्भावनाबारे सुझाव दिनसमेत मन्त्री राणाले कर्मचारीहरूलाई आग्रह गर्नुभयो। उहाँले भन्नुभयो, “पासपोर्ट सेवामा जनताले भोगेका समस्या र समाधानका उपायबारे तपाईंहरूले सरकारलाई सुझाव दिन सक्नुहुन्छ। त्यसअनुसार सरकारले सुधार गर्दै लैजानेछ।”