नेपाल भूतपूर्व सैनिक संघको स्थापना दिवसमा फलफूल वितरण

-


     हिडन खबर    
     जेठ २५ गते २०८२ मा प्रकाशित


हिड्नखबर डट कम

बागलुङ । नेपाली काँग्रेसको भातृ संस्था नेपाल भूतपूर्व सैनिक संघको ३५औं स्थापना दिवसको अवसरमा फलफूल वितरण गरिएको छ। शुक्रबार संघको स्थापना दिवस पारेर धौलागिरि प्रादेशिक अस्पताल, बागलुङमा उपचाररत विरामीहरूलाई स्वास्थ्य लाभको कामना गर्दै फलफूल वितरण गरिएको हो।

कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य डिल्लीराम सुवेदीले नेपाली काँग्रेसको सबैभन्दा सक्रिय र व्यवस्थित भातृ संस्थाका रूपमा नेपाल भूतपूर्व सैनिक संघलाई उल्लेख गरे।
“नेपाली काँग्रेसका धेरै भातृ संस्थाहरू प्रभावकारी रूपमा सञ्चालनमा छैनन्, तदर्थ समितिहरूको भरमा छन्,” उनले भने, “तर नेपाल भूतपूर्व सैनिक संघ समयमै अधिवेशन गर्ने, समस्यामा अग्रसर हुने र सशक्त रूपमा काम गर्ने संस्था हो।”

सुवेदीले लामो सैन्य जीवन बिताएर फर्किएका भूपू सैनिकबाट पार्टीले अनुशासन सिक्नुपर्ने धारणा व्यक्त गरे।
“म आफैं भूपू सैनिकको छायाँमा हुर्किएँ, त्यसैले फलामे अनुशासन सिक्न पाएँ,” उनले भने, “पार्टीले पनि त्यसबाट पाठ सिक्नुपर्छ, किनभने अनुशासन विना संगठन चल्दैन।”

उनले ‘रिटायर्ड बट नट टायर्ड’ भन्ने भनाइलाई व्यवहारमा उतार्दै भूपू सैनिकले समाजमा योगदान दिँदै आएको बताए।

कार्यक्रम नेपाली काँग्रेस बागलुङका जिल्ला सदस्य टिकाराम थापाले सञ्चालन गरेका थिए भने, नेपाल भूतपूर्व सैनिक संघ बागलुङका अध्यक्ष हरिबहादुर भण्डारीको अध्यक्षतामा सम्पन्न भएको थियो।