बागलुङमा किशोर–किशोरीमैत्री सूचना केन्द्र स्थापना

-


     हिडन खबर    
     जेठ २४ गते २०८२ मा प्रकाशित


हिड्नखबर डट्कम
बागलुङ, जेठ २३

सूचना कक्षको संस्थागत विकास तथा प्रभावकारी उपयोगका लागि किशोर–किशोरीमैत्री सूचना केन्द्र बागलुङमा स्थापना गरिएको छ। गण्डकी प्रदेशमै पहिलो पटक यस्तो केन्द्र बागलुङको कालिका कन्या माध्यमिक विद्यालयमा स्थापना गरिएको हो।

बागलुङ नगरपालिका र बियोण्ड बेइजिङ कमिटी (BBC) नेपालको सहकार्य तथा समन्वयमा स्थापना गरिएको केन्द्रमार्फत किशोर–किशोरीलाई लक्षित सूचना, शिक्षा र परामर्श सेवा प्रवर्द्धन गरिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जयराम भारीले जानकारी दिनुभयो।

बागलुङ नगरपालिका–३ का वडाध्यक्ष सनी कुमार केसीले बालबालिकाको चेतना अभिवृद्धि र व्यवहार परिवर्तनमा सूचना केन्द्रले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले आगामी दिनमा सूचना केन्द्रलाई व्यवस्थित र प्रभावकारी ढंगले सञ्चालन गर्न नगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो।

कार्यक्रममा नगर कार्यपालिका सदस्य धनमाया शर्मा, विद्यालयका प्रधानाध्यापक सुदर्शन कँडेललगायतले मन्तव्य राख्नुभएको थियो।

विद्यालयमा अध्ययनरत १० देखि १९ वर्ष उमेर समूहका किशोर–किशोरीलाई लक्षित गरी सूचना केन्द्र व्यवस्थापन समिति गठन गरिएको छ। विशाल नेपालीको संयोजकत्वमा गठन भएको ११ सदस्यीय समितिमा नविसा बोहोरा सह–संयोजक, मनिष गौतम सचिव, तथा संगम परियार, अञ्जली थापा, पूर्णिमा बिकास, एरिका लामा, विशाल थापा, उमेश घर्ती, कृषा बिक र अनुस्का केसी सदस्य रहनुभएको छ।

साथी शिक्षा स्वयंसेवीको रुपमा दिप्सना बिक संलग्न हुनुहुन्छ भने विद्यालयका सूचना अधिकारी ईश्वर ठाकुर पौडेलले केन्द्रसम्बन्धी जानकारी दिनुभयो। कार्यक्रममा फोकल पर्सन हुमालाई रिजालले प्रशिक्षण दिनुभएको थियो।

कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जयराम भारीको अध्यक्षता, सूचना अधिकारी ईश्वर ठाकुर पौडेलको स्वागत मन्तव्य र शिक्षक वीरबहादुर किसानको सञ्चालनमा सम्पन्न भएको हो।

सूचना केन्द्र स्थापनासँगै किशोर–किशोरीको स्वास्थ्य, अभिभावकको भूमिका, व्यवहार विकास र जीवन उपयोगी सीप अभिवृद्धिमा टेवा पुग्ने अपेक्षा गरिएको छ।