
बागलुङ, जेठ २३
नेपाली सेनाको २३ नम्बर बाहिनी अड्डा, बागलुङ उपल्लाचौरमा सञ्चालित सी.सं. १७ सैन्य आधार तालिम सम्पन्न भएको छ। गत साउनदेखि सञ्चालन गरिएको उक्त तालिम नौ महिनापछि समापन गरिएको हो।
तालिम समापन समारोहका अवसरमा अन्तिम ‘दलेल कवाज’ प्रदर्शनीसहित १०५ जना प्रशिक्षार्थी सिपाहीलाई औपचारिक रूपमा दीक्षित गरिएको हो।
समारोहमा सम्बोधन गर्दै वाहिनीपति सहायक रथी अर्जुन खड्काले नेपाली सेनाको मूल्य, मान्यता र परम्पराको पालना गर्दै राष्ट्र, जनता र संस्थाप्रति समर्पित रहन निर्देशन दिनुभयो। उहाँले राष्ट्रको स्वतन्त्रता, स्वाधीनता, भौगोलिक अखण्डता तथा राष्ट्रिय एकताको संरक्षण सेनाको मूल दायित्व भएको उल्लेख गर्दै हरेक अवस्थामा इमान्दार, अनुशासित र अविचलित रहनु आवश्यक रहेको बताउनुभयो।
तालिमका विविध विधामा उत्कृष्ट प्रदर्शन गरेका प्रशिक्षार्थीहरूलाई सो अवसरमा पुरस्कृत गरिएको थियो। समग्रमा उत्कृष्ट ठहरिएका तालिमे सिपाही कपिल थापालाई खुकुरी पुरस्कार प्रदान गरिएको थियो। अन्य विधामा प्रथम हुने सिपाहीहरूलाई समेत मेमेन्टो प्रदान गरिएको थियो।
कार्यक्रममा जिल्लास्थित जनप्रतिनिधि, सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, नवदीक्षित सिपाहीका अभिभावकसहित उल्लेख्य संख्यामा दर्शकको उपस्थिति थियो।













