
हिड्न खबर डट कम
काठमाडौं। लायन्स क्लबका पूर्व डिष्ट्रिक्ट गभर्नर तथा सामाजिक अभियन्ता लायन राजन लम्सालले लायन्स क्लब इन्टरनेशनलको अन्तर्राष्ट्रिय निर्देशक (International Director) पदका लागि उम्मेदवारी घोषणा गरेका छन्। नेपालमा लायनिज्मको विकास र विस्तारमा उल्लेखनीय योगदान पुर्याएका लम्सालले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको पहिचान स्थापित गर्न संकल्प व्यक्त गरेका छन्।
शैक्षिक र पेशागत पृष्ठभूमि
स्याङ्जा जिल्लामा वि.सं. २०२६ मा जन्मिएका लम्सालले प्रारम्भिक शिक्षा जनप्रिय माध्यमिक विद्यालयबाट प्राप्त गरे। त्यसपछि बुटवलमा कक्षा ८ मा भर्ना भई सन् १९८६ (वि.सं. २०४३) मा प्रवेशिका परीक्षा उत्तीर्ण गरे। उनले काठमाडौंको पिपुल्स क्याम्पसबाट प्रवीणता तह (I.Com) तथा शंकरदेव क्याम्पसबाट व्यवस्थापन संकायमा स्नातक तह पूरा गरे।
स्नातकपछि चितवनस्थित आइल्याण्ड जंगल रिसोर्टको काठमाडौं कार्यालयमा लेखापालको रूपमा १२ वर्ष कार्य गरे। त्यसपछि ट्राभल एजेन्सी, होटेल, म्यानपावर, कन्सल्टेन्सी, कलेज, बैंक, जलविद्युत, यातायात तथा शेयर ब्रोकरजस्ता व्यवसायहरूमा सफलता हात पार्दै उनले निजी क्षेत्रमै दरिलो पहिचान बनाएका छन्।
सामाजिक क्षेत्र र पारिवारिक पृष्ठभूमि
सामाजिक सेवामा रुचि राख्ने लम्सालले ‘सहयोगी हातहरू’ नामक संस्था स्थापना गरी विभिन्न सामाजिक कार्यमा सक्रिय रहँदै आएका छन्। नेपाली मौलिक कला, संस्कृति, लोकगीत र भजनको संरक्षणमा उनको विशेष योगदान छ। राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठानको स्थापना उनकै पहलमा भएको हो।
उनका पिता पदमराज लम्साल र माता पुष्पा लम्सालका तीन सन्तानमध्ये राजन जेठा सुपुत्र हुन्। जीवनसंगीनी लायन इन्दु लम्साल सन् २०१९–२० मा लायन्स डिष्ट्रिक्ट ३२५ बी वानकी गभर्नर भई ‘एम्बेसडर अफ गुडविल’ अवार्ड प्राप्त गरिसकेकी छिन्। लायन राजन र इन्दु नेपालकै पहिलो ‘पति–पत्नी डिष्ट्रिक्ट गभर्नर’ जोडी हुन्।
लायन्स क्लबसँगको लामो यात्रा
लम्सालले सन् १९९७ मा लायन्स क्लब अफ सङ्खुवासभा खाँदबारीबाट सदस्यता लिएपछि २७ वर्षको उमेरदेखि सामाजिक सेवामा पूर्ण रूपले समर्पित भए। सन् २०१०–११ मा डिष्ट्रिक्ट गभर्नर बन्दा उनले ६५ नयाँ क्लब स्थापना गरी लायन इतिहासमै कीर्तिमान राखे। त्यसयता, मल्टिपल काउन्सिल चियरपर्सन, एसएफएमडी चेयरपर्सन, जीएलटी र जीएमटी को–अर्डिनेटरजस्ता विभिन्न जिम्मेवारीमा सक्रिय रहँदै आएका छन्।
लायन वर्ष २०२२–२५ का लागि एलसीआईएफ एरिया लिडर को रूपमा लगातार तीन वर्ष नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिनिधित्व गरिरहेका छन्।
अन्तर्राष्ट्रिय अनुभव र आगामी लक्ष्य
अमेरिका, फ्रान्स, जापान, सिंगापुर, मलेसिया, चीन, भारत, जर्मनी, अष्ट्रेलिया, स्वीजरल्याण्डलगायत २० भन्दा बढी देशको भ्रमण गरिसकेका लम्सालले नेपाललाई अन्तर्राष्ट्रिय लायन्स मञ्चमा स्थापित गर्ने लक्ष्य राखेका छन्।
अहिले उनले लायन्स क्लब इन्टरनेशनलको अन्तर्राष्ट्रिय निर्देशक पदका लागि आधिकारिक रूपमा मनोनयन दर्ता गराइसकेका छन्। लायन्स अन्तर्राष्ट्रिय मल्टिपल कन्भेन्सनमा उनले अमूल्य मत र समर्थनको अपेक्षा राखेका छन्।











