विश्व वातावरण दिवस–२०८२ काे अवसरमा अध्यक्ष प्रचण्डद्वारा शुभकामना सन्देश

-


     हिडन खबर    
     जेठ २३ गते २०८२ मा प्रकाशित


काठमाडौं, जेठ २३ – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्व वातावरण दिवस–२०८२ को अवसरमा सम्पूर्ण नागरिक, विज्ञ, समाजसेवी, युवा, महिला तथा सरोकारवालाहरूप्रति शुभकामना व्यक्त गरेका छन्।

“प्लास्टिक प्रदूषण अन्त्य गरौँ” भन्ने नाराका साथ विश्वभरि मनाइँदै गरिएको यस दिवसको अवसरमा अध्यक्ष प्रचण्डले वातावरण संरक्षण, जलवायु न्याय र दिगो भविष्यको पक्षमा निरन्तर पैरवी गर्दै आएका सबैप्रति आभार प्रकट गर्दै वातावरणीय न्यायप्रतिको हाम्रो जिम्मेवारी स्मरण गराउने उपयुक्त अवसर भएको उल्लेख गरेका छन्।

उनका अनुसार, नेपालजस्तो जैविक विविधता, कृषि प्रधानता र भूगोलको विशिष्टता बोकेको मुलुकमा प्लास्टिकजन्य प्रदूषणको असर गम्भीर र बहुआयामिक रहेको छ। सहरी क्षेत्रदेखि ग्रामीण बस्तीसम्म प्लास्टिक फोहोर व्यवस्थापन जटिल चुनौती बनेको उल्लेख गर्दै उनले यसलाई प्रतिस्पर्धी पूँजीवादी प्रवृत्तिको परिणामका रूपमा व्याख्या गरेका छन्, जसले वातावरण, जनस्वास्थ्य, खाद्य सुरक्षादेखि जलस्रोत र जैविक प्रणालीहरूसम्म दीर्घकालीन असर पुर्‍याइरहेको छ।

अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्दाको समयमा वातावरणीय विषयहरूलाई नीति निर्माणको मुख्य एजेन्डा बनाउँदै जलवायु परिवर्तनबाट नेपालले भोगेको क्षतिको क्षतिपूर्तिको माग अन्तर्राष्ट्रिय मञ्चहरूमा स्पष्ट रूपमा उठाएको स्मरण गराएका छन्। पर्वतीय मुलुकका समस्यालाई उजागर गर्दै हरित ऊर्जा, जलवायु अनुकूलन रणनीति र वातावरणमैत्री नीतिहरूको पक्षमा नेपाललाई हरित विकासतर्फ अघि बढाउन गरिएको प्रयास पनि उनले उल्लेख गरेका छन्।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसको नेपालको भ्रमण र त्यस क्रममा उठाइएका जलवायुसम्बन्धी मुद्दाहरू विशेष महत्त्वका रहेको समेत उनले बताएका छन्।

अन्त्यमा, अध्यक्ष प्रचण्डले प्लास्टिक प्रयोग घटाउन, पुनःप्रयोग र पुनःचक्रणलाई प्राथमिकता दिन, वातावरणमैत्री जीवनशैली अपनाउन तथा वातावरणीय न्यायका पक्षमा दृढ आवाज उठाउन सबैमा आग्रह गरेका छन्।