
सुदूरपश्चिम लगानी सम्मेलनमा मन्त्री राणाको भनाइ – ‘निजी क्षेत्र विकासको इञ्जिन हो’
धनगढी, २१ जेठ २०८२ – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले राजनीतिक स्थायित्व कायम गरी आर्थिक विकासलाई अघि बढाउनु वर्तमान सरकारको मुख्य प्राथमिकता भएको बताएकी छन्। सुदूरपश्चिम प्रदेश लगानी तथा विकास तयारी सम्मेलनको उद्घाटन समारोहमा बुधबार बोल्दै उनले लगानीको लागि शान्तिपूर्ण वातावरण अपरिहार्य भएको उल्लेख गरिन्।
उनले भनिन्, “मुलुक राजनीतिक अस्थिरताको बन्दी बनेपछि दुई प्रमुख दल नेपाली कांग्रेस र एमालेले सहकार्य गरेर स्थायित्वका लागि वर्तमान सरकार गठन गरिएको हो।”
मन्त्री राणाका अनुसार लगानी प्रवर्द्धनका लागि आवश्यक नीतिगत तथा कानुनी सुधारमा सरकारले विशेष जोड दिएको छ। “कानुनमा सुधार र नयाँ नीतिको निर्माणमार्फत लगानीमैत्री वातावरण बनाउने हाम्रो प्रयास हो,” उनले भनिन्।
अर्थ कूटनीतिमा जोड
परराष्ट्र मन्त्रालयमा छुट्टै आर्थिक कूटनीति महाशाखा स्थापना गरिएको जानकारी दिँदै उनले कूटनीतिक माध्यमबाट विदेशी लगानी भित्र्याउन सक्रियता देखाएको उल्लेख गरिन्। “परराष्ट्र मन्त्रालयमा छुट्टै महाशाखा गठन गरेर लगानी भित्र्याउन सहजीकरण गरिँदैछ,” मन्त्री राणाले भनिन्।
निजी क्षेत्रको भूमिकामा जोड
उनले निजी क्षेत्रलाई आर्थिक विकासको इञ्जिन भन्दै त्यसको सशक्त सहभागिता सुनिश्चित गर्न नीति निर्माण भइरहेको जानकारी दिइन्। “निजी क्षेत्रलाई प्रोत्साहित गर्न लगानीमैत्री नीति र कानुन आवश्यक छन्, जुनतर्फ सरकार अग्रसर छ,” राणाको भनाइ थियो।
सुदूरपश्चिममा लगानीको सम्भावना
सुदूरपश्चिम प्रदेश पर्यटन, संस्कृति, कृषि लगायतका क्षेत्रमा अपार सम्भावना भएको उल्लेख गर्दै उनले ती क्षेत्रमा लगानी गर्न निजी क्षेत्रलाई आह्वान गरिन्। साथै, उनले प्रदेश सरकार र स्थानीय समुदायलाई पनि लगानी आकर्षणका लागि सक्रिय भूमिका खेल्न आग्रह गरिन्।
‘विकासमा राजनीति शोभनीय हुँदैन’
“यस क्षेत्रको विकासका लागि सबै एकजुट हुनुपर्छ। विकासलाई प्राथमिकता दिऔँ, राजनीति आफ्नै ठाउँमा सीमित राखौँ,” मन्त्री राणाको भनाइ थियो।











