नेपाली सेनाको कालीजंग गण घोडाबाँधेद्वारा दरमखोलामा कृत्रिम उद्धार अभ्यास

-


     सुवास आचार्य     
     जेठ २२ गते २०८२ मा प्रकाशित


बागलुङको गलकोटमा विपद् व्यवस्थापनको तयारी स्वरूप नेपाली सेनाले व्यापक कृत्रिम उद्धार अभ्यास प्रदर्शन गरेको छ। नेपाली सेनाको कालीजंग गण, घोडाबाँधे बागलुङले गलकोट नगरपालिका–३, ५ र ७ को संगमस्थल दरमखोला पुल क्षेत्र (मध्यपहाडी लोकमार्ग) मा यो अभ्यास सञ्चालन गरेको हो।

सेनाको अगुवाइमा गरिएको अभ्यासमा सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, रेडक्रस, स्वास्थ्यकर्मी, शिक्षक, विद्यार्थी तथा स्थानीय नागरिकहरूको समेत सक्रिय सहभागिता रहेको थियो।

मनसुनको पूर्वसन्ध्यामा सम्भावित विपद्‌का असर न्यून गर्न र त्यसबाट जोगिने पूर्वतयारी स्वरूप अभ्यास गरिएको कालीजंग गणका गणपती शिवबहादुर अधिकारीले जानकारी दिनुभयो। अभ्यासमा पहिरो, बाढी, डुबान तथा डुङ्गा प्रयोग गरेर खोलामा फसेका व्यक्तिहरुको खोज तथा जीवित उद्दारको नमुना प्रदर्शन गरिएको थियो।

घाइतेलाई खोलाबाट उद्दार गरी प्राथमिक उपचार तथा व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा समेत व्यावहारिक अभ्यास गरिएको थियो। विपद्को समयमा देखिन सक्ने समस्या, उद्धार प्रक्रियाका चरणहरू र समन्वयबारे समेत टोलीबीच अभ्यास गरिएको थियो।

जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमर थापाले यस्तो अभ्यासले नागरिकमा चेतना वृद्धि गर्ने र विपद्को जोखिम न्यून गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।

गलकोट नगरप्रमुख भरत शर्मा गैरेले विपद्को पहिलो प्रतिक्रियामा स्थानीयवासी नै सक्रिय हुनुपर्ने भएकाले प्रत्येक स्थानीय तहमा यस्तो अभ्यास नियमित गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले स्रोत र जनशक्ति विकासमा समेत ध्यान दिनुपर्ने उल्लेख गर्नुभयो।

कार्यक्रममा सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरू, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, शिक्षक, पत्रकार, विद्यार्थी र स्थानीय नागरिकहरूको उल्लेखनीय उपस्थिति थियो।