
काठमाडौं, १८ जेठ – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा जनवादी गणतन्त्र चीनको विशेष प्रशासनिक क्षेत्र हङकङमा आयोजित एक अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी भई गएराति स्वदेश फर्किनु भएको छ।
डा. राणा गत बुधबार चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा हङकङ प्रस्थान गर्नुभएको थियो। उहाँ चीन सरकारद्वारा जेठ १६ गते आयोजना गरिएको “अन्तर्राष्ट्रिय मध्यस्थता संगठन स्थापना गर्ने महासन्धि”को हस्ताक्षर समारोहमा सहभागी हुनुभएको हो।
नेपालले उक्त महासन्धिमा हस्ताक्षर नगरे पनि पर्यवेक्षकका रूपमा कार्यक्रममा उपस्थिति जनाएको थियो। कार्यक्रममा ३२ देशले हस्ताक्षर गरेका थिए भने ५० भन्दा बढी मुलुक र २० भन्दा बढी अन्तर्राष्ट्रिय संस्थाहरूको सहभागिता रहेको थियो।
उक्त मध्यस्थता संगठनले विभिन्न देशहरू, देश र कम्पनीबीच, नागरिकहरूबीच तथा निजी व्यवसायहरूबीच उत्पन्न हुने विवादलाई मध्यस्थतामार्फत समाधान गर्न उद्देश्य राखेको छ।
कार्यक्रमकै सन्दर्भमा परराष्ट्रमन्त्री डा. राणाले चिनियाँ विदेशमन्त्री वाङ यीसँग द्विपक्षीय भेटवार्ता पनि गर्नुभएको थियो। भेटका क्रममा नेपाल–चीन मैत्री सम्बन्धलाई अझ सुदृढ बनाउने, आर्थिक, प्राविधिक तथा व्यवसायिक सहकार्य विस्तार गर्ने र चिनियाँ सहयोगमा निर्माणाधीन परियोजनाहरू समयमै सम्पन्न गर्ने विषयमा छलफल भएको मन्त्री राणाले जानकारी दिनुभयो।
उहाँले भन्नुभयो, “सन् २०२५ मा नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७० औं वार्षिकोत्सव परेको अवसरमा विशेष कार्यक्रमहरू आयोजना गर्दै उच्चस्तरीय भ्रमणहरूको आदानप्रदानलाई निरन्तरता दिने विषयमा पनि कुराकानी भएको छ।”
मन्त्री डा. राणाको नेतृत्वमा हङकङ भ्रमणमा सहभागी नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्रालयको उत्तरपूर्व एशिया महाशाखाका प्रमुख भृगु ढुंगाना, हङकङस्थित नेपालका महावाणिज्यदूत डा. बिन्देश्वरप्रसाद लेखक तथा परराष्ट्र मन्त्रालय र महावाणिज्यदूतावासका अन्य अधिकारीहरू सहभागी हुनुहुन्थ्यो।









