
कांग्रेस–एमालेको रोग सरुवा रोग हो, अब सहकार्य हुँदैन : अध्यक्ष प्रचण्ड
हिड्नखबर डट कम काठमाडौँ, जेठ १८ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कीर्तिपुर सदैव परिवर्तनको पक्षमा अग्रपंक्तिमा रहँदै आएको बताएका छन्।
शनिबार नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) कीर्तिपुर नगर समितिद्वारा आयोजित पिकनिक तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले कीर्तिपुरले आफूलाई गणतान्त्रिक नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री बनाएको स्मरण गर्दै यहाँका नेता, कार्यकर्ता, युवा, वृद्ध र सम्पूर्ण जनसमुदायप्रति आभार प्रकट गरे।
“कीर्तिपुर नजितेसम्म न त चित्त बुझ्छ, न त मनमा शान्ति आउँछ,” भन्दै उनले भने, “यसपटक जित्न विशेष प्रयास गर्यौं। डा. शिव शरण महर्जनलाई जिताउन सकिएन, तर तेस्रो स्थानबाट दोस्रो स्थानमा पुर्याउन सफल भयौं। हामी निराश छैनौं, अब केही नयाँ गर्नुपर्छ भन्ने दृढ निश्चय गरेका छौं।”
सरकारमा रहँदा माओवादी केन्द्रले भ्रष्टाचारविरुद्ध र सुशासनको पक्षमा काम गरेकाले दलाल र बिचौलिया आत्तिएर सरकारविरुद्ध उत्रिएको उनले दाबी गरे।
“जनताले माओवादी नै जनताको पक्षमा काम गर्छ भन्ने विश्वास गर्न थालेका थिए,” अध्यक्ष प्रचण्डले भने, “तर त्यही काम बिचौलियाहरूलाई मन परेन। त्यसैले अपारदर्शी ढंगले हामीलाई सरकारबाट हटाइयो।”
सरकारबाट बाहिरिएपछि पार्टीले आत्मसमिक्षासहित जनता सङ्ग जोडिने देशव्यापी अभियान सञ्चालन गरेको जानकारी पनि उनले दिए। उनले तराईमा हुलाकी मार्ग, पहाडमा मध्यपहाडी लोकमार्ग केन्द्रीत अभियानहरू सञ्चालन गरिएको बताए।
“हामी जनतासँगै खायौं, सँगै बस्यौं, सहिद तथा बेपत्ता परिवारसँग आत्मीय सम्बन्ध बनायौं,” उनले भने, “जनतासँग एकाकार भएर अगाडि बढेका छौं। जनतामा माओवादीप्रति विश्वास र भरोसा जाग्दै गएको छ।”
उनका अनुसार हुलाकी अभियान अन्तर्गत तराईमा झन्डै एक करोड जनतासँग प्रत्यक्ष संवाद भएको छ। जनताले देखाएको माया र विश्वासले थप जिम्मेवारीको अनुभूति गराएको पनि उनले उल्लेख गरे।
कार्यक्रममा अध्यक्ष प्रचण्डले माओवादी केन्द्रले जेठ २० गतेदेखि उपत्यका जागरण अभियान सुरु गर्न लागेको जानकारी दिए। साथै, नेवार समुदायलाई प्राथमिकता दिने उद्देश्यले पोखराबाट सुरु गरिएको मध्यपहाडी लोकमार्ग अभियान जेठ २१ पछि सारिएको पनि उनले बताए।
“समाजवादी संस्कृतिको भ्रूण नेवार समुदायमा रहेको छ,” उनले भने, “समाजवादको खोजी नेपाली संस्कृति, जाति र परम्परामै गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो।”
उनले हुलाकी अभियानमार्फत ८–९ लाख जनतालाई पार्टीमा आबद्ध गरिसकेको र हालसम्म दुईवटा पार्टीसँग एकता भइसकेको जानकारीसमेत दिए। मध्यपहाडी लोकमार्ग अभियानपश्चात् थप तीनवटा पार्टीसँग निषर्त एकता गरिने पनि उनले उल्लेख गरे।
“अब जनताले बुझ्न थालेका छन्— माओवादी र कांग्रेस–एमाले एउटै होइनन्,” अध्यक्ष प्रचण्डले भने, “माओवादी केन्द्र नै जनताको असली प्रतिनिधि हो भन्ने जनविश्वास बढ्दै गएको छ।”
उनले माओवादी केन्द्रले पटक–पटक कांग्रेस र एमालेसँग सहकार्य गरे पनि त्यसबाट राम्रो अनुभव नभएको बताए।
“हामीले कांग्रेस र एमालेसँग सहकार्य गर्दा उनीहरूको रोग हामीमा सरेको जस्तो भयो,” उनले भने, “उनीहरूको त सरुवा रोग रहेछ। अब जनताको घर–घरमा गएर त्यसको उपचार गर्छौं। हामी अब उनीहरूसँग सहकार्य गर्दैनौं।”
अन्त्यमा, अध्यक्ष प्रचण्डले पार्टी व्यवहारमै रूपान्तरणको दिशामा अघि बढेको प्रस्ट पार्दै, जनतामाझ गएर व्यवहारिक रूपमा आफूहरूलाई सुधार्दै जनताको असली पार्टीको रूपमा माओवादी केन्द्रलाई अघि बढाउने प्रतिबद्धता दोहोर्याए।












