हङकङमा नेपाल–चीन परराष्ट्रमन्त्रीबीच भेटवार्ता

-


     हिडन खबर    
     जेठ १७ गते २०८२ मा प्रकाशित


हिड्न खबर डट कम

१६ जेठ, हङकङ – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र चीनका विदेशमन्त्री वाङ यीबीच आज हङकङमा द्विपक्षीय भेटवार्ता सम्पन्न भएको छ। भेटवार्ता चीनको विशेष प्रशासनिक क्षेत्र हङकङमा भएको मध्यस्थतासम्बन्धी अन्तर्राष्ट्रिय संगठन स्थापनासम्बन्धी महासन्धिमा पर्यवेक्षक राष्ट्रका रूपमा नेपालको सहभागिता अन्तर्गत भएको हो।

सौहार्दपूर्ण भेटमा नेपाल–चीन सम्बन्ध, आपसी हित, साझा चासो र कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वार्षिकोत्सवका विषयमा गहन छलफल भएको थियो। मन्त्री राणाले नेपालले चीनसँगको सम्बन्धलाई उच्च प्राथमिकता दिँदै आएको उल्लेख गर्दै विगतमा प्राप्त आर्थिक, सामाजिक तथा प्राविधिक सहयोगप्रति धन्यवाद दिइन्।

उनले आगामी दिनमा प्रविधि हस्तान्तरण, वैदेशिक लगानी, पूर्वाधार विकास लगायतका क्षेत्रमा सहयोगको अपेक्षा रहेको बताइन्। साथै, नेपाल सधैं एक चीन नीति प्रति प्रतिबद्ध रहेको र नेपाली भूमि चीनविरुद्ध प्रयोग हुन नदिने कुरा पनि दोहोर्याइन्।

सगरमाथा संवादमा चीनको प्रतिनिधित्वप्रति आभार व्यक्त गर्दै मन्त्री राणाले चिनियाँ विदेशमन्त्रीलाई नेपाल भ्रमणको औपचारिक निमन्त्रणा दिइन्। उनले सन् २०२५ लाई ‘नेपाल भ्रमण वर्ष’ का रूपमा मनाइने बताउँदै सो अवसरमा बढीभन्दा बढी चिनियाँ पर्यटकलाई स्वागत गर्न नेपाल इच्छुक रहेको उल्लेख गरिन्।

चिनियाँ विदेशमन्त्री वाङले सगरमाथा संवादको सफल आयोजनामा नेपाल सरकारलाई बधाई दिँदै जलवायु परिवर्तन र वातावरण संरक्षणमा सहकार्य गर्न चीन इच्छुक रहेको बताए।

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका बेला भएका सम्झौता कार्यान्वयनको सन्दर्भमा पनि उनले चासो व्यक्त गरे। साथै, मन्त्री डा. राणाले दिएको निमन्त्रणालाई स्वीकार गर्दै निकट भविष्यमै नेपाल भ्रमण गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।

उनले मन्त्री राणाको कूटनीतिक नेतृत्वको प्रशंसा गर्दै महिला नेतृत्वसम्बन्धी विश्व फोरममा सहभागिताका लागि चीन सरकारतर्फबाट विशेष निमन्त्रणा पनि प्रदान गरेका छन्।