अग्रज पत्रकारको आग्रह: ‘सत्य र तथ्यमा आधारित पत्रकारिता गरौं’

-


     हिडन खबर    
     जेठ १७ गते २०८२ मा प्रकाशित


बागलुङ, जेठ १६ – नेपाल प्रेस युनियनको ३४ औं स्थापना दिवसको अवसरमा बागलुङमा आयोजित ‘अग्रजसँग संवाद’ कार्यक्रममा सहभागी पत्रकारहरूले नयाँ पुस्तालाई सत्य, तथ्य र अनुसन्धानमा आधारित निर्भिक पत्रकारिता गर्न आग्रह गरेका छन्।

‘उबेलाको पत्रकारिता’ शीर्षकको शृङ्खलामा बोल्दै अग्रज पत्रकार विश्वनाथ रेग्मीले पुराना दिनको स्मृति सुनाउँदै भने, “हामी हुलाकमार्फत समाचार पठाउँथ्यौं, ‘हालै’ भनेर लेख्दा त्यो समाचार हप्ता दिनपछि छापिन्थ्यो।” उनले सन् २०४० सालदेखि पत्रकारिता सुरु गरेको बताउँदै त्यो समयमा ‘क’, ‘ख’ र ‘ग’ वर्गअनुसार समाचारको पारिश्रमिक निर्धारण हुने गरेको खुलाए।

कार्यक्रममा अर्का अग्रज पत्रकार जगन्नाथ आचार्यले गलेश्वर मन्दिरको अनियमितता उजागर गर्दा आफूहरूलाई ८ महिना मुद्दा खेप्नुपरेको अनुभव सुनाए। “त्यतिबेला सत्ताको आडमा सञ्चालित मन्दिर व्यवस्थापन विरुद्ध लेख्दा जरिवाना तिरेर छुट्टिनुपर्‍यो,” उनले भने।

नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य प्रेम छोटाले बागलुङको पत्रकारिता इतिहास अभिलेख गरिरहेको जानकारी दिँदै २००८ सालमा हस्तलिखित पत्रिका ‘सही बाटो’ प्रकाशन भएको उल्लेख गरे। उनले भने, “पत्रकारिताले लुकेका सत्य उजागर गर्नुपर्छ, जहाँ गलत हुन्छ त्यहीँ प्रहार हुनुपर्छ।”

कार्यक्रममा नेपाल प्रेस युनियन बागलुङका अध्यक्ष संगम घर्ती मगरले संवाद शृङ्खलालाई निरन्तरता दिने प्रतिबद्धता जनाए। “हामीले ६० को दशकअघि पत्रकारिता सुरु गर्नुभएका सबै अग्रजसँग संवाद गर्ने योजना बनाएका छौं,” उनले भने।