
बागलुङ, जेठ १६ – बागलुङ जिल्लाको गलकोट नगरपालिका–३ हटियास्थित एक गेष्टहाउसको कोठामा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन्।
संगिता भण्डारीले सञ्चालन गर्दै आएको सुस्मिता गेष्टहाउसको माथिल्लो तलाको कोठा नम्बर १०१ मा एक पुरुष मृत भेटिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ। मृतकको पहिचान पर्सा जिल्लाको कालिकामाई गाउँपालिका–२ घर भई हाल मनराइज बोर्डिङ स्कुल, गलकोट–५ मा अध्यापन गराउँदै आएका अन्दाजी ५५/५६ वर्षीय सुबोध कुमार कुशवाहाका रूपमा भएको छ।
प्रहरीका अनुसार कुशवाहा गत २०७९ साल वैशाखदेखि मनराइज बोर्डिङ स्कुलमा पढाउँदै आएका थिए। विद्यालयले उनलाई ५–७ दिनअघि निकालेको बुझिएको छ। त्यसयता उनी गेष्टहाउसमा बस्दै आएका थिए।
जेठ १६ गते बिहान करिब १०:४० बजे गेष्टहाउस सञ्चालकले कुशवाहा मृत भेटिएको जानकारी दिएपछि इलाका प्रहरी चौकी हटियाबाट प्रहरी नायव निरीक्षक (प्र.ना.नि.) तोरणध्वज पौडेलको नेतृत्वमा टोली खटिएको थियो। घटनाको थप अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाउन इलाका प्रहरी कार्यालय बुर्तिबाङबाट प्रहरी निरीक्षक (प्र.नि.) आनन्द बस्नेतसहितको SOCO टोली पनि घटनास्थल पठाइएको प्रहरीले जनाएको छ।
मृतक सुतेकै अवस्थामा फेला परेको र प्रारम्भिक अनुसन्धान अनुसार घटनामा संलग्नता देखिने खालको तथ्य फेला नपरेको प्रहरीले जनाएको छ। शव पोस्टमार्टमका लागि तयारी भइरहेको छ भने घटनाको अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ।









