के घर के डेरा : घर नं २’ प्रदर्शनको तेस्रो सातामा

-


     हिडन खबर    
     जेठ १७ गते २०८२ मा प्रकाशित


हिड्नखबर डट्कम
काठमाडौं । नेपाली चलचित्र ‘के घर के डेरा : घर नं २’ प्रदर्शनको तेस्रो सातामा प्रवेश गरेको छ। सकारात्मक प्रतिक्रिया पाइरहेको यो फिल्म आजबाट तेस्रो हप्ता प्रवेश गरेको हो।

दर्शकबाट सकारात्मक ‘वर्ड अफ माउथ’ पाइरहेको फिल्मलाई आम नेपालीले भोगिरहेको विषयवस्तुलाई प्रभावकारी रुपमा प्रस्तुत गरेको भन्दै प्रशंसा गरिएको छ। निर्माण पक्षका अनुसार सिनेमा हेर्ने दर्शकहरूको संख्या निरन्तर बढिरहेको छ।

निर्देशक दीपेन्द्र के. खनालले भने, “जति दर्शकले सिनेमा हेर्नुभएको छ, सबैले राम्रो प्रतिक्रिया दिनुभएको छ। ‘वर्ड अफ माउथ’ राम्रो भएकाले दर्शक संख्या अझै बढ्ने हाम्रो विश्वास छ।”

वितरक करण श्रेष्ठका अनुसार ‘के घर के डेरा : घर नं २’ का शोहरू केही हलहरूमा थपिएका छन्। उच्च अकुपेन्सी (दर्शक उपस्थिति) देखिएको र दर्शकको सकारात्मक प्रतिक्रियाले निर्माण पक्ष उत्साहित रहेको जनाइएको छ।

दर्शकहरूले फिल्मलाई आम नेपालीको ‘घरको कथा’ भन्दै अत्यधिक सराहना गरिरहेका छन्।

साहित्यकार बुद्धिसागरद्वारा लिखित कथामा आधारित चलचित्रलाई दीपेन्द्र के. खनालले निर्देशन गरेका हुन्। फिल्ममा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, आर्यन सिग्देल, केकी अधिकारी, उपासना सिंह ठकुरी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरे, सुरज विष्टलगायत कलाकारहरूको अभिनय रहेको छ।

एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट तथा नटराज क्रिएसनको संयुक्त प्रस्तुतिमा बनेको चलचित्रको छायांकन कृष्णबहादुर थापाले गरेका हुन्। कार्यकारी निर्माता युवराज कार्की हुन् भने नकिम उद्दिन, शरद श्रेष्ठ र किरण महर्जन फिल्मका निर्माता हुन्।