
हिड्न खबर डट्कम
बागलुङ, जेठ १५ — गण्डकी प्रदेशसभा अन्तर्गत प्रदेश मामिला तथा कानुन समितिकी सभापति चम्पादेवी खड्काले गणतन्त्रको विकल्प नरहेको स्पष्ट गर्नुभएको छ।
१८औँ गणतन्त्र दिवसको अवसरमा बिहीबार बागलुङमा आयोजित कार्यक्रममा बोल्दै सभापति खड्काले नेपालमा गणतन्त्रलाई संस्थागत गर्दै सुदृढ बनाउन समय लाग्ने बताउँदै, “गणतन्त्रको विकल्प छैन,” भन्नुभयो।
पूर्व संविधानसभा सदस्य समेत रहनुभएकी खड्काले “पुरानो व्यवस्थामा फर्कन खोज्ने स्वरहरू आइरहेका छन्, तर अहिलेको प्रणालीलाई सुदृढ बनाउन सुधार आवश्यक छ,” भन्ने धारणा राख्नुभयो।
कार्यक्रममा संविधानसभा सदस्य प्रकाश शर्मा पौडेलले गणतन्त्र बलियो बनाउन सबैको कार्यशैली, व्यवहार र आचरणमा सुधार आवश्यक रहेको बताउनुभयो। “नागरिकका आशा-अपेक्षा पूरा नहुँदा कतै कतै निराशा र आलोचनाका स्वरहरू उठ्न थालेका छन्,” उहाँले भन्नुभयो, “राज्य सञ्चालकहरूले आफ्नो कार्यशैली र सोचमा परिवर्तन गर्न सक्नुपर्छ।”
कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य दिपेन्द्र बहादुर थापा, नेकपा एमाले बागलुङका अध्यक्ष हिरा बहादुर केसी, अन्तरपार्टी महिला सञ्जाल बागलुङकी अध्यक्ष सिता सापकोटा कँडेललगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो।
कार्यक्रम जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमर बहादुर थापाको अध्यक्षता, प्रमुख जिल्ला अधिकारी कुमान सिंह गुरुङको स्वागत मन्तव्य र दुर्गा प्रसाद शर्माको सञ्चालनमा सम्पन्न भएको हो।
यसअघि, दिवसको अवसरमा बागलुङ बजारमा प्रभातफेरी समेत आयोजना गरिएको थियो।










