
हिड्नखबर डट्कम
पोखरा, जेठ १५ — पोखरा–१७ स्थित सदाशिवजी सिद्धेश्वर हरिहर मन्दिर परिसरमा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञमा हिन्दूराष्ट्र घोषणासहितको विशेष शंखघोष गरिएको छ।
पोखराका कृष्णराज अधिकारीले ८ मिनेट २५ सेकेन्ड लामो शंख फुकेर हिन्दूराष्ट्रको घोषणासहित कोटीहोम सम्पन्न भएको जनाइएको छ। अधिकारी विश्वमा लामो शंख फुक्ने तेस्रो व्यक्ति भएका छन्।
कोटीहोम अन्तर्गत १०१ कुण्डमा १ करोड ५० लाख हवन गरिएको आयोजकको दाबी छ। कार्यक्रममा हालसम्म १४ लाख भक्तजनको सहभागिता भइसकेको छ।
बालयोगेश्वर विजय कृष्णमूर्ति महाराजको संकल्पमा आयोजित महायज्ञमा गायत्री माताको मूर्ति स्थापना गरिएको छ। कार्यक्रममा करिब ६०० युनिट रगत संकलन, राष्ट्रिय भजन प्रतियोगिता, तथा सन्त-साधुहरूको प्रवचन र कथा वाचन जारी छ।
देवी प्रतिभा, अनुराधा पाण्डे, प्रशान्त कृष्ण परांकुश, पं. दिनबन्धु पोखरेल, र चैतन्यकृष्ण महाराजलगायतका वाचकहरूले प्रवचन दिइसकेका छन्।
कार्यक्रममा तुला दान, ग्रहशान्ति, व्रतबन्ध, पितृ पुराण, कालसर्प योग पूजा, हनुमान चालिसालगायत विभिन्न धार्मिक अनुष्ठान जारी छन्।
कोटीहोम जेठ २६ गतेसम्म सञ्चालन हुनेछ। भक्तजनहरूको दैनिक उपस्थितिसँगै विभिन्न जिल्लाबाट सयौँ गाडीहरू पोखरा भित्रिरहेका छन्।









