नरैनापुरमा गणतन्त्र दिवस मनाइयो : ‘जनता र समाजवाद उन्मुख गणतन्त्रका लागि संघर्ष आवश्यक’ — अध्यक्ष शाह

-


     हिडन खबर    
     जेठ १६ गते २०८२ मा प्रकाशित


हिड्नखबर डट्कम

बाँके, जेठ १५ — बाँकेको नरैनापुर गाउँपालिकामा गणतन्त्र दिवस विविध कार्यक्रमसहित मनाइएको छ। सो अवसरमा आयोजित कोणसभालाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष शैयद इस्तियाक अहमद शाहले गणतन्त्र बिचौलिया र दलालहरूको नियन्त्रणमा पर्ने खतरा बढ्दै गएको भन्दै सचेत रहन आह्वान गर्नुभयो।

अध्यक्ष शाहले गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिकता र समावेशी मूल्यहरू ऐतिहासिक उपलब्धि भएको उल्लेख गर्दै यिनको प्रभावकारी कार्यान्वयनमा नरैनापुर गाउँपालिका प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले भन्नुभयो, “लोकतन्त्रबिनाको गणतन्त्र सार्थक हुँदैन, र गणतन्त्रबिनाको लोकतन्त्रमा जनताको सार्वभौमसत्ता सुनिश्चित हुँदैन।”

उहाँले देशमा लोकतान्त्रिक गणतन्त्रको अभ्यास आवश्यक भएको र पालिकाले जनताले गणतन्त्र आएको अनुभूति गर्ने गरी काम गरिरहेको पनि बताउनुभयो। “गणतन्त्रले नरैनापुरको मुहार नै फेरिएको छ,” अध्यक्ष शाहको भनाइ थियो।

कार्यक्रममा सहायक प्रशासकीय अधिकृत भरत महतोले गणतन्त्र दिवसको शुभकामना दिँदै जनताले सात दशक लामो संघर्षबाट प्राप्त गरेको प्रणालीको संरक्षण र सुदृढीकरण गर्नु सबैको दायित्व रहेको बताउनुभयो। उहाँले इमान्दारिता र निष्ठाका साथ गाउँपालिका अगाडि बढिरहेको पनि उल्लेख गर्नुभयो।

कार्यक्रममा वडा नं १ का अध्यक्ष इसाक जोलाह, वडा नं ३ का अध्यक्ष अजय मौर्य, इलाका प्रहरी कार्यालय भगवानपुरका प्रहरी निरीक्षक गणेशराज उप्रेती, सशस्त्र प्रहरी निरीक्षक सुशील केसी, महिला शाखा प्रमुख कृष्णा चन्द्र, कराते प्रशिक्षक नरहरि नाथ योगी, रोजगार शाखा प्रमुख मकबुल मुकेरी, राजस्व शाखा प्रमुख मुक्दर अली मुकेरी, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो।

कार्यक्रमको विशेष आकर्षण स्वरूप ४ जना कराते खेलाडीहरूलाई ब्ल्याक बेल्टबाट सम्मान पनि गरिएको थियो।