
जैमिनी नगरपालिका, बागलुङले आर्थिक वर्ष २०८१/८२ का लागि तय गरिएको वार्षिक कार्यक्रम अन्तर्गत गणतन्त्र दिवस २०८२ को अवसर पारेर “शिक्षक प्रतिभा पहिचान कार्यक्रम” आयोजना गर्दै उत्कृष्ट शिक्षक र विद्यार्थीलाई सम्मान गरेको छ।
कार्यक्रम अन्तर्गत शैक्षिक सत्र २०८१ को वार्षिक परीक्षामा कक्षा ५ र ८ मा उत्कृष्ट सिकाइ उपलब्धि हासिल गराउन सफल विषयगत शिक्षकहरूलाई सम्मान गरिएको हो। साथै, कक्षा ५ र ८ मा उच्चतम GPA ल्याएर प्रथम, द्वितीय तथा तृतीय स्थान प्राप्त गर्ने सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीहरूलाई नगद पुरस्कारसहित सम्मान गरिएको छ।
त्यस्तै, शिक्षामा उत्कृष्ट नतिजा र अन्य व्यवस्थापन पक्षको मूल्यांकन गर्दै आधारभूत तहतर्फ जैमिनी–१ कुश्मिसेरास्थित जनचेतना प्राथमिक विद्यालयलाई रु ५०,००० तथा माध्यमिक तहतर्फ राङखानी माविलाई रु ७५,००० नगदसहित पुरस्कृत गरिएको हो।
कार्यक्रममा नगरपालिकामा उत्कृष्ट सेवा प्रवाह गरेका ५ जना कर्मचारीहरू—वडा सचिव सिमाना छन्त्याल, MIS अपरेटर ताराप्रसाद पौडेल, जनस्वास्थ्य निरीक्षक दिलबहादुर थापा, सेवानिवृत्त कर्मचारी नारायणदत्त शर्मा र कार्यालय सहयोगी कमल आचार्य—लाई पनि नगदसहित सम्मान गरिएको छ।
शिक्षक प्रतिभा पहिचानतर्फ १३ जना सहभागीमध्ये शान्ति मावि, कुश्मिसेराका यमबहादुर जिसी प्रथम, जनता मावि, नुमकी देवी शर्मा द्वितीय, जनप्रिय मावि, दयाराम सापकोटा तृतीय र जैमिनी संस्कृत पाठशालाका दीपक न्यौपाने सान्त्वना स्थानमा परेका थिए। उनीहरूलाई पनि नगद पुरस्कार प्रदान गरिएको हो।
कार्यक्रम नगरप्रमुख नरबहादुर पुनको अध्यक्षता, शिक्षा उपसचिव खेमप्रसाद आचार्यको स्वागत मन्तव्य तथा शिक्षा अधिकृत मिरा देवी शर्माको सञ्चालनमा सम्पन्न भएको थियो।









