गणतन्त्र दिवस २०८२ को अवसरमा प्रचण्डद्वारा शुभकामना सन्देश: “गणतन्त्रको रक्षा र विकासका लागि सहकार्य अपरिहार्य”

-


     हिडन खबर    
     जेठ १६ गते २०८२ मा प्रकाशित


काठमाडौं, जेठ १५ – गणतन्त्र दिवस २०८२ को अवसरमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई शुभकामना सन्देश दिएका छन्।

सन्देशमा अध्यक्ष दाहालले गणतन्त्र प्राप्तिका लागि जनयुद्ध र जनआन्दोलनमा सहभागी भई जीवन आहुति दिने सहिदहरूलाई श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ता तथा घाइते योद्धाहरूप्रति उच्च सम्मान प्रकट गरेका छन्।

उनले नेपाली जनताको वीरता र बलिदानबाट संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको १७ वर्ष पूरा भएको उल्लेख गर्दै यो परिवर्तनले सम्पूर्ण उत्पीडित वर्गलाई समावेशी र समानुपातिक प्रतिनिधित्वमार्फत राज्यसत्तामा पहुँच दिलाएको बताएका छन्।

“यसले सयौं वर्षदेखि उत्पीडनमा पारिएका वर्ग, क्षेत्र, जाति, भाषा, धर्म, लिंग र संस्कृतिका जनसमुदायलाई रैती होइन, नागरिकको हैसियत प्रदान गरेको छ,” सन्देशमा उल्लेख गरिएको छ। तर संविधानबाट प्राप्त मौलिक हकको कार्यान्वयन अधूरो रहेको र आर्थिक, सामाजिक तथा सांस्कृतिक रुपान्तरणको कार्यभार अझै बाँकी रहेको अध्यक्ष दाहालले स्मरण गराएका छन्।

सन्देशमा उनले गणतन्त्रको रक्षा, प्रयोग र विकासका लागि गणतन्त्रको जननी शक्तिलाई थप बलियो बनाउँदै गणतान्त्रिक शक्तिहरूबीच सहकार्य मजबुत बनाउनु आजको आवश्यकता भएको उल्लेख गरेका छन्। सरकार सञ्चालनमा देखिएको बेथितिप्रति चिन्ता व्यक्त गर्दै उनले त्यसलाई आधार बनाएर प्रतिगामी शक्तिहरू गणतन्त्रविरुद्ध सक्रिय हुन खोजिरहेको चेतावनी दिएका छन्।

“यथास्थिति र प्रतिगामी दुवै विरुद्ध संघर्ष गर्दै अग्रगामी परिवर्तनको पक्षमा उभिनु आजको कार्यभार हो,” सन्देशमा भनिएको छ।

अन्त्यमा, गणतन्त्र दिवसले सबै नेपालीमा गणतान्त्रिक सोच, शैली र आचरणको विकास गर्दै जनताको अवस्था बदल्ने अभियानमा एकताबद्ध हुन प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना उनले व्यक्त गरेका छन्।