
बागलुङ — नेपाल प्रेस युनियनको ३४औं स्थापना दिवसको अवसरमा मंगलबार साँझ बागलुङको लोकतान्त्रिक चोकमा दीप प्रज्वलन गरिएको छ। कार्यक्रम युनियन बागलुङको आयोजनामा सम्पन्न भएको हो।
कार्यक्रममा बोल्दै युनियनका केन्द्रीय परामर्श समिति सदस्य तथा बागलुङका पूर्व अध्यक्ष जगन्नाथ आचार्यले लोकतन्त्रको संरक्षणमा प्रेसको भूमिका अपरिहार्य रहेको बताए। “प्रत्येक परिवर्तनमा प्रेसको योगदान रहँदै आएको छ,” उनले भने, “अहिले लोकतन्त्र विरोधी तत्वहरु सक्रिय भइरहेकाले प्रेसले अझ जिम्मेवार भूमिका खेल्नुपर्छ।”
उनले प्रेस युनियनले पत्रकारितालाई पेशागत मर्यादा र स्वतन्त्रताको बाटोमा अघि बढाउनुपर्ने उल्लेख गरे। कार्यक्रममा युनियन बागलुङका अध्यक्ष संगम घर्तीमगरको अध्यक्षता, उपाध्यक्ष उषा पौडेलको स्वागत र सचिव डम्मर बुढामगरको सञ्चालन रहेको थियो।
स्थापना दिवसको अवसरमा बुधबार नेपाल पत्रकार महासंघ बागलुङ र पत्रकार सम्बद्ध संघ–संस्थाबीच मैत्रीपूर्ण फुटसल प्रतियोगिता आयोजना गरिएको छ।
वि.सं. २०४८ साल जेठ १३ गते नेपाल प्रेस युनियनको स्थापना प्रजातान्त्रिक पत्रकारहरूको भेलाबाट भएको हो। तत्कालीन प्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालाका प्रेस सल्लाहकार जयप्रकाशप्रसाद गुप्ताको संयोजकत्वमा गठित ९ सदस्यीय तदर्थ समितिबाट यसको सुरुवात भएको थियो।
नेपाल प्रेस युनियन श्रमजीवी पत्रकारहरूको हकहित र स्वतन्त्र पत्रकारिता प्रवर्द्धनमा प्रतिबद्ध अग्रणी संस्था हो। बागलुङ शाखा २०५६ सालमा स्थापना भएको थियो।











