प्रचण्डद्वारा गोरखामा दुई भवनको उद्घाटन, संघीयता कार्यान्वयनबारे चिन्ता

-


     हिडन खबर    
     जेठ १४ गते २०८२ मा प्रकाशित



गोरखा, जेठ १३
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा गणतन्त्र नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखा जिल्लाको सहिद लखन गाउँपालिकास्थित प्रशासकीय भवन र घैरुङ स्वास्थ्य चौकीको नवनिर्मित भवनको आज उद्घाटन गर्नुभएको छ।

समारोहलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले गोरखाको विकासप्रति आफू प्रधानमन्त्री हुँदा र अहिले प्रमुख प्रतिपक्षी दलको नेताको रूपमा समेत निरन्तर ध्यान दिएको बताउनुभयो।

उहाँले भन्नुभयो, “संघीयताको कार्यान्वयन र स्थानीय तहलाई प्रभावकारी बनाउन म प्रधानमन्त्री हुँदा संघ, प्रदेश र स्थानीय तहबीच समन्वयका लागि पटक–पटक बैठक आयोजना गरी पहल गरेको थिएँ। त्यस क्रममा थुप्रै काम अगाडि बढाइएको थियो। तर केपी शर्मा ओली प्रधानमन्त्री भएपछि ती कार्यहरू रोकिएका छन्।”

संविधानमा उल्लेखित कतिपय अधिकार अझै कार्यान्वयनमा नआएकोप्रति उहाँले चिन्ता व्यक्त गर्नुभयो। “गाउँगाउँमा सिंहदरबार” भन्ने अवधारणा आफूले ल्याएको उल्लेख गर्दै त्यसको पूर्ण कार्यान्वयन हुन नसकेको धारणा उहाँले व्यक्त गर्नुभयो।

बुढीगण्डकी जलविद्युत् आयोजना अघि बढाउन गरिएको प्रयास हाल रोकिएको भन्दै उहाँले त्यसमा पुनः गति दिन जरुरी रहेको बताउनुभयो।

अध्यक्ष प्रचण्डले भन्नुभयो, “अहिले गणतन्त्र र संविधानको रक्षाका लागि सबै गणतन्त्रवादीहरू एक हुन आवश्यक छ। सुशासन र समृद्धिका लागि पनि अब फेरि लड्नुपर्ने अवस्था आएको छ।”

युवाहरू विदेशिने क्रम बढ्दो र समाजमा निराशा फैलिँदै गएको सन्दर्भमा उहाँले त्यसलाई चिर्न स्वदेशमै रहेका स्रोत, साधन र सम्भावनाको अधिकतम उपयोग गर्दै केही गर्न सकिन्छ भन्ने भावना युवामा जगाउनुपर्ने आवश्यकता औंल्याउनुभयो।

“नेपाल संसारमै सम्भावनायुक्त देश हो। युवाहरूले निराशा होइन, आशाको भावना बोकेर अघि बढ्नुपर्छ,” अध्यक्ष प्रचण्डको भनाइ थियो।

कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि, पार्टीका कार्यकर्ता र सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।