प्रेस युनियनको ३४औं स्थापना दिवसमा बागलुङमा फलफुल वितरण

-


     हिडन खबर    
     जेठ १३ गते २०८२ मा प्रकाशित


बागलुङ। नेपाल प्रेस युनियनको ३४औं स्थापना दिवसको अवसरमा बागलुङमा फलफुल वितरण गरिएको छ। धौलागिरी प्रादेशिक अस्पतालमा उपचाररत बिरामीहरूको स्वास्थ्य लाभको कामना गर्दै सोमबार फलफुल वितरण गरिएको हो।

प्रेस युनियन बागलुङ शाखाले स्थापना दिवसको पूर्वसन्ध्यामा आयोजना गरेको कार्यक्रममा युनियनका अध्यक्ष संगम घर्तीमगर, केन्द्रीय सदस्य प्रदीप पन्त, पत्रकार महासंघ बागलुङकी उपाध्यक्ष सिर्जना पन्तलगायत पत्रकारहरू सहभागी थिए।

कार्यक्रममा केन्द्रीय सदस्य पन्तले प्रेस युनियन श्रमजीवी पत्रकारको हकहित र पेशागत सुरक्षाका लागि निरन्तर लागिपरेको बताए। “पत्रकारको पेशागत मर्यादा कायम गर्दै अधिकारको संरक्षणमा प्रेस युनियन क्रियाशील छ,” उनले भने।

धौलागिरी प्रादेशिक अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. किरण तिवारीले समाजलाई सकारात्मक मार्गमा लैजान पत्रकारिताको भूमिका महत्वपूर्ण हुने बताए। “बिरामीहरूको सुस्वास्थ्यको कामना गर्दै यस्तो मानवीय कार्यमा संलग्न भएकोमा धन्यवाद दिन चाहन्छु,” उनले भने।

पत्रकार महासंघ बागलुङकी उपाध्यक्ष सिर्जना पन्तले पत्रकारहरूको हकहितका लागि सबै संघसंस्थाबीच सहकार्य आवश्यक रहेको बताइन्। “विचार र आस्थामा भिन्न भए पनि पत्रकारको पेशागत सुरक्षा र मर्यादाको रक्षा हाम्रो साझा धर्म हो,” उनले भनिन्।

स्थापना दिवसका अवसरमा प्रेस युनियनले मंगलबार साँझ दीप प्रज्वलन तथा बुधबार मैत्रीपूर्ण फुटसल प्रतियोगितालगायत विविध कार्यक्रम तय गरेको जानकारी युनियनका अध्यक्ष घर्तीमगरले दिए। युनियनले ‘अग्रज पत्रकारसँग संवाद’ कार्यक्रम पनि आयोजना गर्ने भएको छ।

सोमबार सम्पन्न फलफुल वितरण कार्यक्रम सचिव डम्मर बुढामगरको सञ्चालनमा र उपाध्यक्ष सुवास आचार्यको स्वागत मन्तव्यसहित सम्पन्न भएको थियो। कार्यक्रममा ४० जना बिरामीलाई फलफुल वितरण गरिएको थियो।