‘मिरमिरे’मा दयाहाङ राई, निर्देशक यम शेर्पासँग दोस्रो पटक सहकार्य

-


     हिडन खबर    
     जेठ १३ गते २०८२ मा प्रकाशित


काठमाडौं । अभिनेता दयाहाङ राई निर्देशक यम शेर्पाको नयाँ चलचित्र ‘मिरमिरे’ मा अनुबन्धित भएका छन्। निर्देशक शेर्पा र राईले यसअघि चलचित्र ‘कार्साङ’ मा सँगै काम गरेका थिए।

‘मिरमिरे’ यम शेर्पाको दोस्रो निर्देशन हो। उनले नयाँ वर्ष २०८२ को अवसर पारेर चलचित्रको थिम पोस्टर सार्वजनिक गर्दै यो वर्षभित्र प्रदर्शन गर्ने घोषणा गरेका छन्। निर्देशक शेर्पाले भने, “हामीले अहिलेका पहिलो रोजाइका अभिनेतालाई ‘मिरमिरे’मा अनुबन्ध गरेका छौँ। यो हाम्रो दोस्रो सहकार्य हो। स्टोरी पिच गर्दा दयाहाङले मन पराएपछि सहकार्य सम्भव भएको हो। हामी फेरि एक सामाजिक कथासहित आउँदैछौँ।”

चलचित्र ग्रामीण परिवेशमा आधारित सामाजिक विषयवस्तुमा निर्माण हुने बताइएको छ। यद्यपि अन्य कलाकारहरूको नाम खुलाइएको छैन।

थिम पोस्टरमा एक पुरुष र एक महिला पात्र मिरमिरे बिहानीको सूर्य किरणमा सूर्यतर्फ फर्किएर उभिएको दृश्य देखाइएको छ, जसले चलचित्रको संवेदनशील र जीवनमुखी पक्ष झल्काउँछ।

चलचित्रको कथा तथा निर्देशन निर्देशक यम शेर्पाकै रहनेछ। यार्सा फिल्म्सको प्रस्तुति रहेको चलचित्रका निर्माता निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा हुन्। सह-निर्मातामा गोविन्द बोहरा र ईश्वर श्रेष्ठ छन् भने कार्यकारी निर्माता रोहित कट्टेल रहेका छन्।

‘मिरमिरे’ २०८२ सालमै रिलिज हुने बताइएको छ तर प्रदर्शन मिति भने तय गरिएको छैन। चलचित्रको वितरण आरआर फिल्म्सले गर्नेछ।