बागलुङमा अठारौँ गणतन्त्र दिवस तीन दिनसम्म विविध कार्यक्रमसहित मनाइने

-


     हिडन खबर    
     जेठ १२ गते २०८२ मा प्रकाशित


सुवास आचार्य, बागलुङ
बागलुङमा अठारौँ गणतन्त्र दिवस तीन दिनसम्म विविध कार्यक्रमहरूको आयोजना गरी मनाइने भएको छ। जिल्ला समन्वय समितिका संयोजक तथा गणतन्त्र दिवस मूल समारोह समितिका संयोजक अमर थापाको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो।

समितिको निर्णयअनुसार जेठ १४, १५ र १६ गते गणतन्त्र दिवसका अवसरमा राष्ट्रिय झण्डा मर्यादापूर्वक गाड्ने, साँझ दीप प्रज्ज्वलन गर्ने, रक्तदान, बालबालिकालाई स्टेशनरी सामग्री वितरण, संवाद कार्यक्रम लगायतका गतिविधि गरिनेछ।

जेठ १४ गते बिहान ७ बजे बागलुङ नगरपालिकाको संयोजनमा ऐतिहासिक पार्कबाट सुरु गरी बागलुङ बजार क्षेत्रका विभिन्न स्थानमा सामूहिक सरसफाइ कार्यक्रम सञ्चालन गरिनेछ। ८:३० बजे नेपाल रेडक्रस सोसाइटी बागलुङ शाखाको संयोजनमा धौलागिरी प्रादेशिक अस्पताल, प्रदेश जनस्वास्थ्य कार्यालय र नगरपालिकाको स्वास्थ्य शाखाको सहकार्यमा रक्तदान कार्यक्रम हुनेछ।
११ बजे उद्योग वाणिज्य संघको संयोजनमा मानव सेवा आश्रममा खाद्यान्न वितरण गरिनेछ। ३ बजे शिक्षा विकास तथा समन्वय इकाई र सामाजिक विकास कार्यालयको संयोजनमा फरक क्षमता भएका विद्यार्थीलाई उपल्लाचौरस्थित बागलुङ विशेष बालकक्षामा हितकारी सामग्री वितरण गरिनेछ। ४ बजे गैरसरकारी संस्था महासंघको संयोजनमा बागलुङ कारागारमा रहेका कैदीबन्दीलाई खेलकुद सामग्री वितरण गरिनेछ।

जेठ १५ गते गणतन्त्र दिवसकै दिन बिहान ७ बजे ट्राफिकचोकमा विभिन्न राजनीतिक दल, जनप्रतिनिधि, शिक्षण संस्था, धार्मिक तथा सामाजिक संघ–संस्था, सहकारी, टोल विकास संस्था, महिला समूह, सेना–प्रहरी, कर्मचारी, विद्यार्थी लगायत सर्वसाधारण आ–आफ्नो पहिचान झल्कने पोशाक र ब्यानरसहित भेला भई प्रभातफेरी गरिनेछ। उक्त प्रभातफेरी लोकतान्त्रिक चोकमा पुगेर मूल समारोह कार्यक्रममा परिणत हुनेछ।

साँझ ६:३० बजे अन्तरपार्टी महिला सञ्जालको संयोजनमा ऐतिहासिक पार्कमा सामूहिक दीप प्रज्ज्वलन तथा चियापान कार्यक्रम गरिनेछ।

जेठ १६ गते दिउँसो ११ बजे नेकपा (माओवादी केन्द्र)को संयोजन तथा जिल्लामा क्रियाशील विभिन्न राजनीतिक दलहरूको समन्वय र सहकार्यमा ‘गणतन्त्रको महत्त्व’ विषयक वृहद छलफल तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिनेछ।

जिल्ला समन्वय समितिका समन्वय अधिकारी कृष्णराज गौतमका अनुसार, कार्यक्रमहरू सफल बनाउन सरोकारवाला सबै निकायको सहकार्य सुनिश्चित गरिनेछ।