दोस्रो हप्तामै ‘के घर के डेरा : घर नं २’लाई उच्च अकुपेन्सी

-


     हिडन खबर    
     जेठ १२ गते २०८२ मा प्रकाशित


काठमाडौं — दोस्रो सातामा प्रदर्शन भइरहेको नेपाली चलचित्र ‘के घर के डेरा : घर नं २’ ले उच्च अकुपेन्सी कायम राख्न सफल भएको छ। शुक्रबारबाट दोस्रो सातामा प्रवेश गरेको चलचित्रले पहिलो साताको तुलनामा अझ राम्रो दर्शक साथ पाएको छ।

शुक्रबार देशभरका अधिकांश सिनेमा हलहरूमा चलचित्रका शोहरू हाउसफुल भएका थिए। शनिबार पनि अग्रिम बुकिङ राम्रो रहेकाले धेरैजसो शो हाउसफुल भइरहेका वितरक करण श्रेष्ठले जानकारी दिए। “आज पनि अग्रिम बुकिङबाटै राम्रो अकुपेन्सी देखिएको छ। डोरसेलसहित धेरैजसो शो हाउसफुल छन्,” श्रेष्ठले बताए।

चलचित्रले आम नेपालीले भोगिरहेको विषयवस्तुलाई प्रस्तुत गरेकाले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको निर्माण पक्षको भनाइ छ। ‘के घर के डेरा : घर नं २’ दर्शकले आफ्नै कथा जस्तो महसुस गरिरहेको निर्माण पक्षको दाबी छ।

साहित्यकार बुद्धिसागरद्वारा लेखिएको कथा रहेको चलचित्रलाई दीपेन्द्र के. खनालले निर्देशन गरेका हुन्। चलचित्रमा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, आर्यन सिग्देल, केकी अधिकारी, उपासना सिंह ठकुरी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरे, सुरज विष्टलगायत कलाकारको अभिनय रहेको छ।

‘के घर के डेरा : घर नं २’ एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट र नटराज क्रिएसनको प्रस्तुति हो। चलचित्रका कार्यकारी निर्माता युवराज कार्की हुन् भने निर्माता नकिम उद्दिन, शरद श्रेष्ठ र किरण महर्जन रहेका छन्। सिनेम्याटोग्राफी कृष्णबहादुर थापाले गरेका हुन्।