परराष्ट्रमन्त्री राणाको जापान भ्रमण उपलब्धिमूलक

-


     हिडन खबर    
     जेठ १२ गते २०८२ मा प्रकाशित


काठमाडौं, ११ जेठ – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले हालै सम्पन्न पाँचदिने जापान भ्रमणलाई उपलब्धिमूलक भएको बताएकी छन्।

जापान भ्रमण सकेर गएराति स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री राणाले जापानका विदेशमन्त्रीसहित विभिन्न उच्चस्तरीय व्यक्तित्वहरूसँग भएको भेटवार्ता नेपालको हितमा केन्द्रित रहेको जानकारी दिइन्।

“यस भ्रमणका क्रममा नेपाल–जापान सम्बन्धका विविध पक्षहरूबारे तथा जापानको सहयोगमा सञ्चालित परियोजनाहरूका बारेमा महत्वपूर्ण कुराकानी भएको छ,” मन्त्री राणाले भनिन्, “त्यस्तै जापानमा आयोजित ज्येष्ठ नागरिकसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिँदै अन्य देशहरूले अपनाएका नीतिहरू र त्यहाँको अवस्थाबारे जान्ने अवसर प्राप्त भयो।”

भ्रमणको क्रममा जेठ ८ गते टोकियोमा मन्त्री राणाको जापानी विदेशमन्त्री इवाया ताकेसीसँग द्विपक्षीय भेटवार्ता भएको थियो। उक्त भेटमा नेपाल–जापान सम्बन्ध, आपसी हित तथा साझा चासोका विषयमा छलफल भएको बताइएको छ।

त्यसैगरी, मन्त्री राणाले जेठ ९ गते जापान इन्टरनेशनल कोअपरेसन एजेन्सी (जाइका) का अध्यक्ष डा. तानाका अकिहिकोसँग भेट गर्दै नेपालमा जाइका मार्फत प्राप्त सहयोगप्रति आभार व्यक्त गरिन्। उनले आर्थिक तथा सामाजिक विकासमा जापानको भूमिकाको सराहना गर्दै सञ्चालनमा रहेका परियोजनाबारे पनि कुराकानी गरिन्।

भ्रमणका क्रममा मन्त्री राणाले जापानका उप–विदेशमन्त्री इकुइना अकिकोसँग पनि शिष्टाचार भेट गरेकी थिइन्। गत साता काठमाडौंमा सम्पन्न सगरमाथा संवादमा सहभागी भएकी उप–मन्त्री अकिलाई पनि उनले धन्यवाद व्यक्त गरेकी छन्।

मन्त्री राणा गत सोमबार जापान प्रस्थान गरेकी थिइन्। फर्किने क्रममा उनलाई परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईसहित अधिकारीहरूले स्वागत गरेका थिए।