
९ जेठ २०८२, बागलुङ | हिड्न खबर डट्कम
‘जनतासँग माओवादी – मध्यपहाडी लोकमार्ग जनजागरण अभियान’ अन्तर्गत नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा गणतन्त्र नेपालको प्रथम प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको टोलीलाई बागलुङ नगरपालिकाले औपचारिक स्वागत गरेको छ।
सो अवसरमा नगरप्रमुख बसन्त कुमार श्रेष्ठले अभियानको सफलताको शुभकामना व्यक्त गर्दै नगरपालिकाका आवश्यकता समेटिएको ज्ञापनपत्र अध्यक्ष प्रचण्डलाई हस्तान्तरण गरे।
जिल्ला समन्वय समितिका प्रमुख अमर बहादुर थापाले बागलुङका समस्या र सम्भावनाबारे प्रकाश पार्दै पूर्वप्रधानमन्त्रीसँग आवश्यक सहयोगको अपेक्षा राखे।
अध्यक्ष प्रचण्डले पातीहाल्नी हुँदै बागलुङ प्रवेश गरेपछि आयोजित विभिन्न स्वागत तथा जनभेटघाट कार्यक्रममा देखिएको जनसहभागिता उत्साहजनक रहेको बताए। उनले माओवादी केन्द्रको सरकारको अवधिमा शुरू गरिएको पूर्व–पश्चिम चुरे करिडोरमार्फत राष्ट्रलाई एकताबद्ध गर्ने प्रयास स्मरण गराउँदै, बागलुङमा मध्यपहाडी लोकमार्गको सबैभन्दा लामो खण्ड रहेको उल्लेख गरे।
उनले बागलुङको विकासका लागि नगरपालिकाद्वारा अघि सारिएका योजनामा पार्टी र नेतृत्वको तर्फबाट आवश्यक सहयोग पुर्याउने प्रतिबद्धता व्यक्त गरे।









