
टोकियो, जेठ ९ – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जापान इन्टरनेशनल कोअपरेसन एजेन्सी (JICA) का अध्यक्ष डा. तानाका अकिहिकोसँग भेटवार्ता गर्नुभएको छ। शुक्रबार जापानको टोकियोस्थित जाइकाको मुख्यालयमा सम्पन्न उक्त भेटमा नेपाल–जापान द्विपक्षीय सम्बन्ध तथा आपसी हितका विविध विषयमा छलफल भएको हो।
भेटका क्रममा मन्त्री राणाले जाइकामार्फत् जापान सरकारले विगत लामो समयदेखि नेपालका आर्थिक, सामाजिक, पूर्वाधार, शिक्षा र अन्य विकासका क्षेत्रमा पुर्याउँदै आएको सहयोगप्रति आभार व्यक्त गर्नुभएको थियो। उहाँले जाइकाको आधारभूत सहयोग नीति अन्तर्गत गरिबी निवारण, आर्थिक वृद्धि, विपद् जोखिम न्यूनिकरण, जलवायु परिवर्तन र सुशासन तथा लोकतन्त्र सुदृढीकरणमा दिएको योगदानको विशेष प्रशंसा गर्नुभयो।
मन्त्री राणाले हालैका दिनमा नागढुंगा सुरुङमार्ग निर्माण, सिन्धुली–बर्दिबास सडक पुनर्निर्माण एवं मर्मत लगायतका परियोजनाहरूमा जापान सरकारको सक्रिय सहयोग नेपालका लागि अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो।
भेटमा नेपाल–जापान सम्बन्ध, द्विपक्षीय सहयोगको भावी दिशा, जलवायु परिवर्तनको असर, विपद् व्यवस्थापन, सुशासन प्रवर्द्धन र ज्येष्ठ नागरिकहरूको हितसम्बन्धी विषयमा पनि व्यापक छलफल भएको मन्त्रालयले जनाएको छ।
नेपाल र जापानबीचको ऐतिहासिक र सौहार्दपूर्ण सम्बन्धलाई अझ मजबुत पार्न दुबै पक्ष सकारात्मक रहेको स्पष्ट भएको छ।










