
बागलुङ, जेठ ८ – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको टोली आज बागलुङको ताराखोला गाउँपालिका आइपुगेको छ। माओवादी केन्द्रले सञ्चालन गरिरहेको मध्यपहाडी लोकमार्ग जनजागरण अभियान अन्तर्गत प्रचण्डसहित शीर्ष नेताहरूको टोली ताराखोला पुगेको हो।
ताराखोलाको गयर क्षेत्र, जुन जनयुद्धकालमा माओवादीको एक महत्वपूर्ण तालिम केन्द्रको रूपमा परिचित थियो, अहिले ऐतिहासिक स्थलका रूपमा चिनिँदै आएको छ। त्यही स्थानमा ताराखोला गाउँपालिकाले जनयुद्धमा वीरगति प्राप्त गरेका २७ जना शहिदहरूको सम्झनामा शालिक निर्माण गरी शहिद तथा वेपत्ता योद्धा स्मृति पार्क स्थापना गरेको छ।
उक्त स्मृति पार्कको आज औपचारिक उद्घाटन अध्यक्ष प्रचण्डले गरेका छन्। उनले पार्टीका अन्य पदाधिकारीहरूका साथमा शहिदहरूको शालिक अनावरण गर्दै माल्यार्पण गरेका हुन्। कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले जनयुद्धको योगदानलाई स्मरण गर्दै सहिदहरूको बलिदानको सम्मान गर्ने संकल्प व्यक्त गरे।
कार्यक्रममा माओवादी केन्द्रका स्थायी समिति सदस्यहरू, प्रदेशस्तरीय नेताहरू, स्थानीय जनप्रतिनिधि र नागरिकहरूको उपस्थिति रहेको थियो। अध्यक्ष प्रचण्डले शान्ति प्रक्रिया र समावेशी लोकतन्त्र स्थापनामा जनयुद्धको ऐतिहासिक योगदानलाई देशले कहिल्यै भुल्न नहुने बताए।















