परराष्ट्रमन्त्री डा. राणा र जापानी विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता

-


     हिडन खबर    
     जेठ ९ गते २०८२ मा प्रकाशित


परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र जापानका विदेशमन्त्री इवाया ताकेसीबीच आज टोकियोमा द्विपक्षीय भेटवार्ता सम्पन्न भएको छ। जापानको औपचारिक भ्रमणमा रहेकी मन्त्री डा. राणा र विदेशमन्त्री ताकेसीबीच टोकियोस्थित जापानी विदेश मन्त्रालयमा उक्त भेटवार्ता भएको हो।

भेटवार्तामा नेपाल–जापानबीचको द्विपक्षीय सम्बन्ध, आपसी हित तथा साझा चासोका विविध विषयमा छलफल भएको थियो। सो अवसरमा मन्त्री डा. राणाले नेपालको आर्थिक, सामाजिक लगायत विभिन्न क्षेत्रमा जापानले पुर्‍याउँदै आएको दीर्घकालीन सहयोगप्रति कृतज्ञता व्यक्त गर्दै जापान सरकार तथा जापानी जनताप्रति धन्यवाद प्रकट गर्नुभयो।

भेटमा दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्षको सन्दर्भमा पनि चर्चा भयो। नेपाल र जापानबीच सन् १९५६ मा कूटनीतिक सम्बन्ध स्थापन भएको हो। दुवै देशले आगामी वर्ष कूटनीतिक सम्बन्ध स्थापनाको ७०औं वार्षिकोत्सव मनाउन लागेको उल्लेख गर्दै मन्त्री राणाले जापानी विदेशमन्त्री ताकेसीलाई सो अवसर पारेर नेपाल भ्रमणको निमन्त्रणा दिनुभएको थियो।

उहाँले नेपाल सन् २०२६ पछि अतिकम विकसित राष्ट्रबाट विकासोन्मुख राष्ट्रमा स्तरोन्नति हुने क्रममा रहेको जानकारी दिँदै त्यसपछि पनि जापानले सहयोग जारी राख्ने विश्वास व्यक्त गर्नुभएको थियो। साथै, मन्त्री राणाले जापानी उद्योगी तथा व्यवसायीहरूलाई नेपालमा लगानीका लागि प्रोत्साहित गर्न आग्रह गर्नुभयो। उहाँले नेपालमा लगानीका पर्याप्त सम्भावना रहेको र सरकारले वैदेशिक लगानीलाई सुरक्षा तथा सुनिश्चितता दिने स्पष्ट पार्नुभयो।

मन्त्री राणाले नेपाल–जापान सम्बन्ध केवल औपचारिक कूटनीतिक सम्बन्धमा सीमित नरही सयौं वर्ष पुरानो सामाजिक–सांस्कृतिक सम्बन्धमा आधारित रहेको उल्लेख गर्दै भन्नुभयो, “भगवान् गौतम बुद्धको शिक्षाबाट प्रेरित दुई देशबीच प्राचीन सांस्कृतिक सम्बन्ध छ। लुम्बिनी–बुद्ध जन्मस्थल नेपाल र जापानी नागरिकबीचको एक सांस्कृतिक सेतु हो।”

उहाँले हरेक वर्ष हजारौं जापानी पर्यटक लुम्बिनी लगायत नेपालको प्राकृतिक र सांस्कृतिक सम्पदा अध्ययन तथा अवलोकनका लागि नेपाल आउने गरेको उल्लेख गर्दै आगामी दिनमा पर्यटन क्षेत्रमा दुवै देशबीच सहकार्यको थप सम्भावना रहेको बताउनुभयो।

अन्त्यमा, मन्त्री राणाले हालै सम्पन्न सगरमाथा संवादमा जापान सरकारका उपविदेशमन्त्रीको नेतृत्वमा भएको सक्रिय र सिर्जनात्मक सहभागिताप्रति विशेष धन्यवाद दिनुभयो।