परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा जापान प्रस्थानकाठमाडौँ — परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा जापान प्रस्थान गर्नुभएको छ।

-


     हिडन खबर    
     जेठ ७ गते २०८२ मा प्रकाशित


उहाँ सोमबार राति जापानको टोकियो प्रस्थान गर्नुभएको हो। टोकियोमा भोलिदेखि सुरु हुने ज्येष्ठ नागरिकमा सामाजिक एकान्तता सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन उहाँ त्यसतर्फ जानुभएको हो। सम्मेलनमा मन्त्री राणाले नेपाल सरकारको प्रतिनिधित्व गर्दै सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

एसियाली नागरिकको कल्याण तथा शिक्षाका लागि प्रतिष्ठान (Foundation for the Welfare and Education of the Asian People) द्वारा आयोजित उक्त सम्मेलनमा १२ भन्दा बढी देशका मन्त्री, सरकारी उच्च अधिकारी तथा वरिष्ठ सामाजिक अभियन्ताहरूको सहभागिता रहनेछ।

महिला सशक्तीकरण, सुरक्षित मातृत्व तथा ग्रामीण महिलाको आर्थिक उत्थानका क्षेत्रमा लामो समयदेखि संलग्न रहनुभएकी मन्त्री राणालाई सम्मेलनमा विशेष वक्ता को रूपमा आमन्त्रित गरिएको आयोजक संस्थाले जनाएको छ। उहाँ ग्रामीण महिला तथा विकास केन्द्र (रुडुक) तथा सुरक्षित मातृत्व सञ्जाललगायत संघसंस्थामार्फत सामाजिक अभियानमा सक्रिय रहँदै आउनुभएको छ।

जापान बसाइका क्रममा मन्त्री राणाले उच्चस्तरीय द्विपक्षीय भेटवार्ता पनि गर्नुहुने कार्यक्रम रहेको छ। उहाँ आगामी शनिबार स्वदेश फर्किने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।